१३ बैशाख २०८३, आईतवार

भैरहवाका १७ क्लिनिकमा ताला : अनुमतिबिना अप्रेसन, लिङ्ग पहिचानपछि गर्भपतन गराएको खुलासा

सिद्धार्थनगर (रुपन्देही) — मापदण्ड र स्वीकृतिबिना सञ्चालित सिद्धार्थनगर भैरहवा क्षेत्रका १७ वटा स्वास्थ्य क्लिनिकमा प्रशासनले ताला लगाएको छ। जिल्ला अनुगमन समितिले शुक्रबार नगर क्षेत्रका स्वास्थ्य संस्थाहरूको अनुगमन गर्दा मापदण्डविपरीत तथा बिनाइजाजत सञ्चालनमा रहेको पाइएपछि ती संस्था बन्द गराइएको हो।

जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत विष्णु ज्ञवालीका अनुसार छवि फर्मा, गुड हेल्थ फार्मेसी, लुम्बिनी डेन्टल क्लिनिक, मेड म्याक्स फार्मेसी, सियाम हेल्थ क्लिनिक र इन्दिरा प्याथोलोजी बन्द गराइएको छ। त्यसैगरी, नेसनल मल्टी स्पेसिलिष्ट, शुलभ हेल्थ क्लिनिक, दियो फार्मेसी, बुद्ध एक्सरे, जीविका मेडिकल हल, लुम्बिनी अल्ट्रासाउन्ड, सेन्ट्रल लुम्बिनी एक्सरे, एम्स फार्मेसी स्वास्थ्य क्लिनिक, सिद्धार्थ हेल्थ एन्ड मेडिकेयर, भैरहवा इन्द्रो क्राइम क्लिनिक र विजुला मेडिकल हललाई पनि बन्द गराइएको उनले बताए।

अनुगमन समितिले अधिकांश फार्मेसीमा फार्मासिस्ट नभएको, एक्सरे क्लिनिकमा रेडियोलोजिस्ट नभएको, ल्याबमा ल्याब टेक्निसियन नभएको तथा केही फार्मेसी क्लिनिक दर्ता नै नगरी सञ्चालन गरिएको पाइएको जनाएको छ। नियमविपरीत बिरामी भर्ना गरेर उपचार गरिएको तथा कतिपय चिकित्सकले सामान्य क्लिनिकमै अप्रेसन गरी जनस्वास्थ्यमा खेलबाड गरेको अनुगमनका क्रममा देखिएको छ। अल्ट्रासाउन्ड गर्दा भ्रूणको लिङ्ग पहिचान गरी गर्भपतन गराउने गरेको समेत खुलेको छ।

अनुगमनमा जिल्ला स्वास्थ्य कार्यालय, सिद्धार्थनगर नगरपालिका र नेपाल प्रहरी लगायतका कार्यालयका प्रतिनिधि सहभागी थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button