सप्राइज चेकिङमा ५७२ कारबाही : पाँच जना मापसे, १९ ले रातो बत्ती उल्लङ्घन, लेन अनुशासन पालना नगर्ने ४१

काठमाडौं — ट्राफिक प्रहरीको विशेष अभियान अन्तर्गत शनिबार ‘सप्राइज चेकिङ’ का क्रममा काठमाडौं उपत्यकाभर ५७२ वटा सवारी चालकलाई कारबाही गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी डिभिजन कार्यालयका अनुसार उपत्यकाका विभिन्न स्थानमा गरिएको उक्त चेकिङमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको आरोपमा पाँच जना कारबाहीमा परेका छन्। यसैगरी, रातो बत्ती उल्लङ्घन गर्ने १९, लेन अनुशासन पालना नगर्ने ४१ तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५०७ सवारी चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।
प्रहरीले कानुनविपरीत तथा दण्डनीय कार्य नगर्न र चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको सुरक्षाप्रति ध्यान दिन सबैलाई आग्रह गरेको छ। यदि चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि अनुरोध गरिएको छ।





