वैशाखको १२ दिनमै ४२२ विपदका घटना : आगलागी र डढेलो अग्रपंक्तिमा, २३ जनाको मृत्यु, ७३ घाइते

काठमाडौं — वैशाख महिना लागेयता देशभर ४२२ विपदका घटना भएका छन्। जसमा परेर २३ जनाको ज्यान गएको छ भने ७३ जना घाइते भएका छन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्मको अवधिमा सबैभन्दा बढी आगलागीका २१७ घटना भएका छन्। त्यस्तै, डढेलोका ११४, सर्पदंशका २०, जनावर आक्रमणका १६, हुरीबतासका २९, चट्याङका १४ र लेक लागेर तीन घटना भएका छन्। डुङ्गा पल्टेर एक घटना भएको छ भने पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई–दुई वटा घटना रेकर्ड गरिएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार यही वैशाख ११ गते बिहानदेखि १२ गते बिहानसम्मको २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएका छन्। यो अवधिमा कुल २७ जिल्ला विपदका कारण प्रभावित भएका छन्। यी घटनाले वैशाखको सुरुवातसँगै विपद्को जोखिम तीव्र रूपमा बढेको संकेत गरेका छन्।





