‘रुसका दुई सहयोगी सेना र नौसेना, अब एयरोस्पेस फोर्स पनि थपियो’ : विदेशमन्त्री लाभरोभको अन्तर्वार्ता, पश्चिमामाथि तीखो प्रहार

मस्को — रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसको सार्वजनिक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पश्चिमा देशहरू अन्तर्राष्ट्रिय कानुनप्रति उदासीन रहेको र ट्रम्प प्रशासनले खुला रूपमा आफ्नै नैतिकता र प्रवृत्तिलाई मार्गदर्शक मानेको आरोप लगाएका छन्।
बिहीबार मस्कोमा प्रसारित अन्तर्वार्तामा लाभरोभले रुसी कूटनीति राष्ट्रिय हितको रक्षामा केन्द्रित रहेको र समानता तथा पारस्परिक सम्मानको आधारमा सहकार्य गर्न इच्छुक पक्षसँग मात्र सहमति गर्ने स्पष्ट पारे। उनले भने, ‘हाम्रो दृष्टिकोणले राष्ट्रिय हित, पारस्परिक सम्मान, समकक्षीको वैध दृष्टिकोण बुझ्ने क्षमता र व्यावहारिकतामा जोड दिन्छ। कूटनीति, राजनीतिको जस्तै, सम्भवको कला हो।’
युक्रेन सङ्कटबारे लाभरोभले विशेष सैन्य कारबाहीका लक्ष्यहरू स्पष्ट रहेको र राष्ट्रपति पुटिनले पटक–पटक यसलाई दोहोर्याइसकेको बताए। उनले सन् २०१४ को ‘कू’ पछि दोनबास, नोभोरोसिया र क्राइमियाका रुसीभाषी जनता भेदभावको सिकार भएको र उनीहरूलाई आतङ्ककारी घोषित गरिएको उल्लेख गर्दै कूटनीति सैद्धान्तिक र लक्ष्यमा स्पष्ट हुनुपर्नेमा जोड दिए।
एक प्रश्नको उत्तरमा लाभरोभले रुसी साम्राज्यकालदेखि नै ‘रुसका दुई मात्र सहयोगी छन्— सेना र नौसेना’ भन्ने भनाइ चर्चित रहेको स्मरण गर्दै थपे, ‘आज त्यो सूचीमा एयरोस्पेस फोर्स पनि थप्न सकिन्छ।’ उनले व्यङ्ग्य गर्दै भने, ‘त्यसो भए, हाम्रा सहयोगीको सङ्ख्या बढिरहेको देखिन्छ।’
उनले इतिहास सर्पिल आकारमा विकास हुने र कहिलेकाहीं प्रहसनका रूपमा दोहोरिने भनाइप्रति संकेत गर्दै भने, ‘आज हामी जे देखिरहेका छौं, त्यो प्रहसनजस्तो देखिए पनि यसको परिणाम गम्भीर र दीर्घकालीन हुनेछ।’





