एल्बे दिवस : सोभियत र अमेरिकी सेनाबीच ऐतिहासिक हात मिलाप, नाजीवादविरुद्धको विजयको प्रतीक जसले भविष्यको कठिनाइको संकेत पनि गर्यो

मस्को — आजभन्दा ठीक ८१ वर्षअघि, सन् १९४५ को अप्रिल २५ का दिन जर्मनीको एल्बे नदी छेउँ टोरगाउ सहरनजिकै सोभियत र अमेरिकी सेनाबीच पहिलो पटक ऐतिहासिक भेट भएको थियो। दोस्रो विश्वयुद्धका बेला तत्कालीन सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धको यो सबैभन्दा उच्च विन्दु थियो।
रुसी सैन्य ऐतिहासिक समाजका अनुसार दिउँसोको समयमा जर्मनीतर्फ अग्रसर सोभियत सेनाको टुकडी र एल्बे नदी पार गरेको अमेरिकी गस्ती टोली पहिलो पटक एकआपसमा जोडिएका थिए। सोभियत टोलीको नेतृत्व वरिष्ठ लेफ्टिनेन्ट ग्रिगोरी गोलोबोरोद्कोले गरेका थिए भने एल्बे पार गर्ने अमेरिकी टोलीको कमान्ड प्रथम लेफ्टिनेन्ट अल्बर्ट कोत्जेब्युले गरेका थिए।
दुई लेफ्टिनेन्टबीचको हात मिलाप विश्वभरको हेडलाइन बन्यो र नाजीवादमाथिको सहयोगी विजयको निर्णायक छविका रूपमा स्थापित भयो। त्यो पहिलो भेटका प्रत्यक्ष सहभागी, अमेरिकी सेनाका प्राइभेट जो पोलोस्कीले पछि स्मरण गरेका थिए, ‘हाम्रो आँखामा आँसु थिए। यो खुसीको क्षण थियो, तर सायद, यस्तो क्षण पनि थियो जब कसैले भविष्य कठिनाइरहित नहुने अनुभूति गरिसकेका थिए।’
सैनिकहरूले एकअर्कालाई अङ्कमाल गरे र त्यो भेटलाई कहिल्यै नबिर्सने वाचा गरे। त्यही ऐतिहासिक भेट पछि ‘एल्बेको भावना’ को रूपमा परिचित भयो। रुसले यस वर्ष नाजीवादमाथिको विजयको ८१ औं वार्षिकोत्सव मनाइरहेको छ।





