अमेरिकी राष्ट्रपति ट्रम्प सुरक्षित : पत्रकार भोजमा गोली चल्दा आक्रमणकारी पक्राउ

वासिङ्टन डी.सी. — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस पत्रकार संघको वार्षिक भोजमा गोली चल्दा पनि सुरक्षित रहेका छन्। लाइभ प्रसारणका क्रममा भएको यो सुरक्षा घटनापछि राष्ट्रपति ट्रम्पलाई तत्काल सुरक्षित स्थानमा लगिएको थियो। राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसियल पोस्टमा आक्रमणकारीलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।
उक्त घटनाको प्रत्यक्ष प्रसारणमा वासिङ्टन हिल्टन होटलको सभाहलमा सहभागीहरू टेबलमुनि लुक्दै शरण लिएको दृश्य देखिएको थियो। धेरै समाचार संस्थाले सभाहलमा गोलीको आवाज सुनिएको जनाएका छन्। राष्ट्रपति ट्रम्पले पोस्टमा लेखेका छन्, ‘सिक्रेट सर्भिस र कानून प्रवर्तनले उत्कृष्ट काम गरे। उनीहरूले छिटो र बहादुरीपूर्वक कार्य गरे। आक्रमणकारीलाई नियन्त्रणमा लिइसकिएको छ।’
यो राष्ट्रपति ट्रम्पको ह्वाइट हाउस पत्रकार भोजमा पहिलो उपस्थिति थियो। घटनापछि राष्ट्रपति तथा प्रशासनका अन्य उच्च अधिकारीहरू सुरक्षित रहेको समाचार संस्था सीएनएनले आफ्ना स्रोतलाई उद्धृत गर्दै जनाएको छ।





