ह्वाइट हाउस पत्रकार भोजमा गोलीकांड : राष्ट्रपति ट्रम्प सुरक्षित, आक्रमणकारी पक्राउ

वासिङ्टन डी.सी. — वासिङ्टन हिल्टन होटलमा शनिबार साँझ आयोजित ह्वाइट हाउस पत्रकार संघको वार्षिक भोज (डिनर) कार्यक्रममा गोली चलेको छ। घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।
सिक्रेट सर्भिस एजेन्टहरूले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई तुरुन्तै कार्यक्रमस्थलबाट बाहिर लगेका थिए। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन्, ‘प्रथम महिला, उपराष्ट्रपति र सम्पूर्ण मन्त्रिपरिषद् सदस्यहरू सुरक्षित छन्। हामी चाँडै ह्वाइट हाउसबाट पत्रकार सम्मेलन गर्नेछौं।’
प्रत्यक्षदर्शीका अनुसार गोलीको आवाज कार्यक्रमस्थलको बलरुम बाहिर सुनिएको थियो। अल जजीराका निर्माता क्रिस सेरिडनले भने, ‘हामीले करिब पाँच राउन्ड गोली चलेको सुन्यौं। बारुदको गन्ध थियो। हामी तुरुन्तै भुइँमा लड्यौं।’ घटनापछि सहभागीहरू टेबलमुनि लुक्दै शरण लिन बाध्य भएका थिए। उक्त दृश्य प्रत्यक्ष प्रसारणमा देखिएको थियो।
अमेरिकी सिक्रेट सर्भिसले गोली चल्ने घटना ‘स्क्रिनिङ क्षेत्र’मा भएको र एक व्यक्तिलाई हिरासतमा लिइएको जनाएको छ। आक्रमणकारीको अवस्था र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। ट्रम्पले सिक्रेट सर्भिस र कानुन कार्यान्वयन निकायको भूमिकाको प्रशंसा गर्दै भने, ‘उनीहरूले छिटो र बहादुरीपूर्वक काम गरे।’
यो राष्ट्रपति ट्रम्प दोस्रो पटक आक्रमणको लक्ष्य बनेका हुन्। यसअघि सन् २०२४ मा चुनावी सभाका क्रममा भएको गोलीबारीमा उनको दाहिने कानमा चोट लागेको थियो। घटनापछि होटल वरिपरि भारी सुरक्षा परिचालन गरिएको छ।





