धौवादीमा १० करोड टन फलाम भण्डार, ६० वर्षसम्म दैनिक १ हजार ५०० टन उत्पादन हुने

काठमाडौँ — खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा करिब १० करोड मेट्रिकटन फलामको कच्चा पदार्थ रहेको प्रक्षेपण गरेको छ। विभागका विज्ञले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धानबाट स्थानीय नाम्जाकोटदेखि धौवादी क्षेत्रसम्म फैलिएको करिब १० किलोमिटर भूभागमा फलामको ‘बिलेड’ (धाउ) फेला पारेका हुन्।
फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरिएको छ। कम्पनीले फलाम भण्डारको थप अनुसन्धान गरिरहेको जनाएको छ। कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार करिब ४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको उक्त फलाम खानीबाट ६० वर्षसम्म दैनिक एक हजार ५०० टन फलाम उत्पादन गर्ने क्षमता रहेको छ।
उक्त परियोजनाबाट वार्षिक पाँच लाख टन फलामजन्य वस्तु उत्पादन गर्न सकिने र त्यसले देशको फलाम मागको करिब २५ प्रतिशत आयात प्रतिस्थापन गर्ने निर्देशक थापाको भनाइ छ। खानी सञ्चालनपछि वातावरणमा पर्ने असरबारे पर्यावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) भइरहेको र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम छिट्टै सुरु हुने पनि उनले जानकारी दिए।
हाल खानीसम्म पुग्नका लागि पूर्वाधार तथा सडकको स्तरोन्नति भइरहेको छ। खानी सञ्चालनले स्टिल उद्योगको विकास तथा धेरै सङ्ख्यामा रोजगारी सिर्जना हुने र फलामको आयात घट्ने अपेक्षा गरिएको छ। कम्पनीका अर्का निर्देशक दिलीपकुमार झाले खानी सञ्चालन भएपछि स्वदेशी पुँजी स्वदेशमै परिचालन भई राष्ट्रिय समृद्धि हासिल गर्न सहयोग पुग्ने बताएका छन्।





