१३ बैशाख २०८३, आईतवार

बाँकेका १२ सामुदायिक वनमा डढेलो, चार हजार हेक्टर क्षेत्र प्रभावित

नेपालगञ्ज — बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको छ। वन डढेलोका कारण वन्यजन्तुको वासस्थान सङ्कटमा पर्न थालेको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ।

एक सातायतादेखि सुरु भएको वन डढेलोका कारण करिब चार हजार हेक्टर क्षेत्रफल प्रभावित भएको जिल्लास्थित डिभिजन वन कार्यालयका योजना अधिकृतले जानकारी दिए। शम्शेरगञ्ज माथेको चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्ती पीडित गुलरी सामुदायिक वनलगायत १२ वटा सामुदायिक वनमा डढेलो लागेको छ।

डढेलो नियन्त्रणका लागि १४ जनाको डढेलो नियन्त्रण दस्ता गठन गरिएको छ। तर जनशक्ति र स्रोतको अभावमा भित्री वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन। हाल रहेको दुई हजार लिटर क्षमताको ट्याक्टरले राजमार्ग आसपासका क्षेत्रमा मात्र डढेलो निभाउन सकिएको छ। डढेलो नियन्त्रणका लागि वनका भित्री भागसम्म जान सक्ने दमकलको आवश्यकता रहेको वन कार्यालयले जनाएको छ।

बढ्दो खडेरीले भित्री वन क्षेत्रमा डढेलो झन् बढेको र केही दिनभित्र पानी नपरे वन डढेलो झनै बढ्ने खतरा रहेको योजना अधिकृतले बताए। जिल्लामा ५० हजार हेक्टर वन क्षेत्र रहेको छ। केही दुर्जनले आगो लगाएका कारण डढेलो फैलिएको वन कार्यालयको अनुमान छ।

यसैगरी, सिक्टा नहरमा फसेको चित्तल मारेर खाएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई वन कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ। त्यस्तै, स्थानीयले सोही नहरमा फसेका चार वटा चित्तलको आज उद्धार गरेर कार्यालयमा बुझाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button