मध्यपूर्व युद्धको असर : नेपालको निर्माण व्यवसाय संकटमा, इन्धन र सामग्रीको मूल्य ६० प्रतिशतले बढ्यो

विराटनगर — मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अस्वाभाविक रूपमा बढ्दा नेपालको निर्माण व्यवसाय क्षेत्र गम्भीर संकटमा परेको छ। निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी पूर्वाधार निर्माण क्षेत्रले ठूलो संकट बेहोरिरहेको जनाएको छ।
महासंघ कोशी प्रदेशका अध्यक्ष जनसेवक भण्डारीका अनुसार मध्यपूर्वको जारी युद्धका कारण पेट्रोल, डिजललगायत इन्धनको पटकपटक मूल्यवृद्धि हुँदा निर्माण व्यवसाय क्षेत्र थप समस्यामा परेको छ। हाल निर्माण क्षेत्रका उद्योग लगभग बन्द अवस्थामा पुगेका छन्। यस्तै अवस्था रहे विकास निर्माणको काम नै ठप्प हुने उनको भनाइ छ।
भण्डारीले गत दुई महिनाको अवधिमा इन्धनजन्य पदार्थको मूल्य करिब ६० प्रतिशतसम्म बढेको गुनासो गरे। सडक निर्माणमा प्रयोग हुने अलकत्रा, सिमेन्ट, छड लगायत निर्माण सामग्रीको मूल्य करिब ४० प्रतिशतले बढेको र ती सामग्रीहरूको अभावसमेत देखिन थालेको उनले जानकारी दिए। यस्तो अवस्थाले निर्माण कार्य सञ्चालन गर्न असम्भवजस्तै बनेको उनको भनाइ छ।
महासंघ कोशीका द्वितीय उपाध्यक्ष सन्तोषकुमार ढुंगानाले अहिलेको अवस्थाले कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुने सम्भावना समाप्तप्राय भएको बताए। उनले महासंघले बारम्बार नेपाल सरकार तथा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस कदम नचालिएको गुनासो गरे। ढुंगानाले बैंक ग्यारेण्टी, बीमा र अन्य दायित्वलाई ध्यानमा राख्दै आयोजनाहरूको म्याद थप गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘म्याद थप बिना निर्माण व्यवसायीहरू झन् ठूलो आर्थिक संकटमा पर्नेछन्।’
पत्रकार सम्मेलनमा महासंघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।





