प्यूठानमा चट्याङ लाग्दै बाबु–छोराको मृत्यु, अन्य चार जना घाइते

प्यूठान — प्यूठानमा चट्याङ लागेर एकै घरका बाबु–छोराको मृत्यु भएको छ। गौमुखी गाउँपालिका–६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहोरा क्षेत्रीको आइतबार चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
दुवैजनाको शव जिल्ला अस्पताल विजुवारमा राखिएको छ। अस्पतालले सोमबार बिहान पोस्टमार्टम गरिने जनाएको छ। सोही गाउँपालिकाका अन्य दुई जना घाइते भएका छन्। गौमुखी गाउँपालिका–४ की २४ वर्षीया सिर्जना न्यौपाने र गाउँपालिका–६ की ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ।
यसअघि शनिबार दिउँसो माण्डवी गाउँपालिका–२ रातापानीका दुई दिदी–बहिनीलाई चट्याङ लागेको थियो। २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको पनि जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ।





