अमेरिकी हेलिकोप्टर प्रस्तावमा पुनर्विचार गर्न सेनाको आग्रह : दुई मात्र हेलिकोप्टर र चार जहाज आवश्यक

काठमाडौँ — अमेरिकाले प्रस्ताव गरेको करिब १०० मिलियन डलर बराबरको ६ वटा हेलिकोप्टर सहयोगमा पुनर्विचार गर्न नेपाली सेनाले आग्रह गरेको छ। यसअघिकै सरकारको पालामा अमेरिकाले राखेको उक्त प्रस्तावबारे पुनर्विचार गर्न नेपाली सेनाले अमेरिकासँग आग्रह गरेको हो।
नेपाली सेनाले हाल आफूलाई दुई वटा मात्र साना हेलिकोप्टर आवश्यक रहेको र यसबाहेक चार वटा जहाज आवश्यक रहेको बताउँदै पुरानो प्रस्तावमाथि पुनर्विचार गर्न आग्रह गरेको छ। दुवै देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरू तथा नेपाली सेनाबीच यस विषयमा छलफल जारी रहेको छ।
यसअघि नेपाली सेनाका लागि दुई वटा हेलिकोप्टर सहयोग गर्ने सम्झौता भइसकेको छ। उक्त सम्झौताअन्तर्गत ती हेलिकोप्टर आगामी वर्ष नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। तत्कालीन अमेरिकी उप–विदेशमन्त्री रिचर्ड बर्माको नेपाल भ्रमणका क्रममा उक्त सहयोग घोषणा गरिएको थियो। नेपाली सेनाले उद्धार तथा विकास निर्माणका कामका लागि केही जहाज आवश्यक रहेको उल्लेख गर्दै प्रस्तावमाथि पुनर्विचार गर्न आग्रह गरेपछि थप छलफल भइरहेको बुझिएको छ।





