अधिकार बाँडफाँट हुन नसक्दा संघीयता बदनाम हुँदै गएको छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले तीन तहको सरकारबीच अधिकारको बाँडफाँट हुन नसक्दा संघीयता बदनाम हुँदै गएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तीन तहको अधिकार स्पष्ट बनाई संघीयताको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।
प्रवक्ता चालिसेले संघीयता खर्चिलो, महँगो र अव्यवहारिक नभई उचित व्यवस्थापनमा ध्यान दिन नसकिएको बताए। उनले केही कमजोरीका आधारमा संघीय व्यवस्थामाथि प्रश्न उठाउनु उचित नहुने धारणा राखे। उनले केन्द्रीय सरकार र स्थानीय सरकारबीच शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवामा अधिकारको ओभरल्याप रहेको बताउँदै तीन तहबीच अधिकार स्पष्ट हुनुपर्नेमा जोड दिए।
उनले संघबाट पठाइने कर्मचारीलाई स्थानीय जनप्रतिनिधिले प्रभावकारी रूपमा परिचालन गर्न नसक्ने अवस्था रहेको भन्दै स्थानीय तहलाई कर्मचारी नियुक्तिको अधिकार दिन ढिलाइ गर्न नहुने बताए।





