रौतहटमा पोखरीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु

गौर (रौतहट) — जिल्लाको दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरास्थित एक पोखरीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु भएको छ। गंगापिपराका गौरीशंकर साह कलवारका छोरा पाँच वर्षीय कृष साहको आइतबार पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार साँझ करिब ६ बजे घरबाट करिब एक किलोमिटर टाढा रहेको ब्रह्मस्थानको पोखरीमा नुहाउन गएका बेला कृष डुबेर बेपत्ता भएका थिए। स्थानीयले प्रहरीलाई खबर गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गरी उद्धार गरेको थियो। बालकलाई उपचारका लागि स्थानीय बागमती सेन्ट्रल अस्पताल गंगापिपरा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका डीएसपी विष्णुप्रदीप बस्यालले बताए।
बालकको शवको प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टम गरिएको छ।





