१४ बैशाख २०८३, सोमबार

भूमिकास्थान नगरपालिकाको मौरीपालन पकेट कार्यक्रम : ४७ घार मौरी वितरण, स्थानीय आत्मनिर्भर बनाउने लक्ष्य

तानसेन — भूमिकास्थान नगरपालिकाले मौरीपालन गरी मह उत्पादनको जिम्मा कृषक सहकारी संस्थालाई दिएको छ। वडा नम्बर १ र २ को ढाकावाङमा रहेको प्रगति कृषक सहकारी संस्थालाई ४७ थान मौरीसहितका घार तथा मौरीपालन सामग्री उपलब्ध गराइएको नगर प्रमुखले जनाएका छन्।

नगरपालिकाले वडा ९ ढिकुरा, १० धनचौरलगायत सम्भावित क्षेत्रलाई मौरी पकेट क्षेत्र घोषणा गरी कृषकलाई मौरीपालनमा घार वितरण र प्राविधिक सहयोग गर्दै आएको छ। पहिला रित्ता घार वितरण गर्दा मौरी नहुँदा घार खेर गएकाले यसपालि सहकारीलाई मौरीसहित घार र सामग्री वितरण गरिएको नगर उपप्रमुख बालकृष्ण बञ्जाडेले बताए। ४७ घार मौरी पाल्पाबाट ल्याइएको उनले जानकारी दिए।

सहकारीमा आबद्ध किसानलाई व्यवसायिक रूपमा मौरीपालन गरी घरखर्च चलाउन सकिने भन्दै उनले प्राविधिक सहयोग पुर्याउने प्रतिबद्धता जनाए। नगरले ढाकावाङलाई मौरी पकेट क्षेत्रका रूपमा विस्तार गरी सबैको घरबाट मह उत्पादन गराउने र स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बञ्जाडेले बताए।

प्रगति कृषक सहकारीका अध्यक्ष भुवानन्द भुसालका अनुसार कुल ५ लाख ८८ हजार ७ सय ३७ रुपैयाँ लागतमध्ये नगरपालिकाले २ लाख ९९ हजार ३ सय ६० रुपैयाँ अनुदान दिएको छ भने बाँकी रकम सहकारीको लगानी रहेको छ। वन क्षेत्रमा चिउरी, म्याल लगायत फूल फुल्ने रुख प्रशस्त भएकाले यहाँ मौरीपालन फस्टाउने उनले विश्वास व्यक्त गरे।

सहकारीमा आबद्ध कृषकलाई तानसेन–७ बगनासकालीको वंशगोपाल मौरीपालन फार्मका सञ्चालक पशुपति न्यौपानेले मौरी पाल्ने तरिका, मह उत्पादन लगायतको प्रशिक्षण दिएका थिए। मौरीसहितका घार र सामग्री पाएपछि स्थानीय युवा टेकराज भुसालले गाउँले उत्साहित भएको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button