१४ बैशाख २०८३, सोमबार

आगामी वर्ष नयाँ सुरुङ बन्दैन : बजेट अभावले सिद्धबाबा र एकान्तकुना मात्र प्राथमिकतामा

काठमाडौँ — आगामी आर्थिक वर्ष २०८२/८३ मा सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ४३ करोड रुपैयाँ बजेट सिलिङ पाएको छ। थोरै बजेट पाएको कारण आगामी आर्थिक वर्षमा कुनै पनि नयाँ सुरुङ निर्माणको प्रक्रिया अगाडि बढाइने छैन। पाल्पाको सिद्धबाबा सुरुङ र ट्राफिक जाम बढी हुने एकान्तकुना खण्डमा ओभरपास निर्माणको कामलाई भने केन्द्रले प्राथमिकतामा राखेको छ।

केन्द्रका निर्देशक राजेशप्रसाद पौडेलका अनुसार बजेट सिलिङ घटेर आएकाले चालु आयोजनालाई मात्र प्राथमिकता दिन सकिने भएको छ। सिद्धबाबा सुरुङका लागि मात्र करिब ३ अर्बको दायित्व रहेकामा २० करोड रुपैयाँभन्दा बढी छुट्याउन नसकिने अवस्था छ। फागुन २०७८ मा सम्झौता भई फागुन २०८३ सम्मको म्याद रहेको उक्त सुरुङको अहिलेसम्म ६७ दशमलव २७ प्रतिशत मात्र काम सकिएको छ।

एकान्तकुनामा ओभरपास निर्माणका लागि १२ करोड प्रस्ताव गरिएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सकिसकेकोले बजेट पाए आगामी आर्थिक वर्षबाटै निर्माण थाल्न समस्या नहुने केन्द्रको भनाइ छ। सातदोबाटोमा कलंकीको जस्तै अन्डरपास निर्माणको अध्ययन सकिए पनि बजेट अभावमा काम अघि बढ्न सकेको छैन।

नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दुम्कीबास–बर्दघाटको सुरुङमार्गको सम्भाव्यता अध्ययन सकिएको छ। २०८० सालको अध्ययनअनुसार ५.३ किलोमिटर लामो उक्त सुरुङ निर्माणमा ३८ अर्ब ६९ करोड रुपैयाँ लाग्ने अनुमान छ। यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा प्राथमिकतामा परेको टोखा–छहरे सुरुङको अध्ययन पनि सकिएको छ।

विगतमा राजनीतिक दलहरूले आवश्यकता नभएको ठाउँमा समेत सुरुङ निर्माणको योजना राख्न दबाब दिने गरेका थिए। त्यसको परिणाम स्वरूप सुरुङको संख्या दुई दर्जन हाराहारी पुगेको थियो। तर अहिले सो दबाब नरहेको र आवश्यकताका आधारमा मात्र सुरुङ निर्माण अघि बढाइने सडक विभागका महानिर्देशक विजय जैसीले बताएका छन्। बीपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङको सम्भाव्यता अध्ययन भएको र विस्तृत अध्ययनपछि निर्माण प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button