१४ बैशाख २०८३, सोमबार

रास्कोट नगरपालिकाद्वारा सुरक्षा अभियान : ३० सडक बत्ती र १० सीसी क्यामेरा जडान

कालिकोट — शिक्षा र स्वास्थ्य क्षेत्रमा नमूना बनेको रास्कोट नगरपालिकाले सडक बत्ती र नगरका महत्वपूर्ण स्थानमा सीसी क्यामेरा जडान गरेको छ। रातको समयमा हुने चोरी, डकैती र हिंसा न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले सुरक्षा सामग्री जडान गरेको हो।

नगर प्रमुख धर्मराज शाहीका अनुसार नगरभित्र हुने आपराधिक गतिविधि न्यूनीकरण गर्न ३० वटा सडक बत्ती र १० वटा सीसी क्यामेरा जडान गरिएको छ। उनले सीसी क्यामेरालाई सडक बत्तीसँग जोडिएको बताउँदै यसले अवान्छित गतिविधिको निगरानी गर्ने विश्वास व्यक्त गरे। नगरपालिकाले ३ लाख ५० हजार रुपैयाँको लागतमा उक्त सामग्री खरिद गरी जडान गरेको सूचना प्रविधि अधिकृत भीमबहादुर बुढाले जानकारी दिए।

रास्कोट कालिकोट जिल्लाको पहिलो नगरपालिका हो जसले नगर प्रहरी भर्ना गरेर सानातिना झैझगडा र शान्ति सुरक्षामा नेपाल प्रहरीलाई सघाउँदै आएको छ। नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना भएपछि नागरिकता र राष्ट्रिय परिचयपत्रको सेवा समेत सुरु भएको छ। गत सोमबारदेखि शुक्रबारसम्म मात्रै इलाका प्रशासन कार्यालय रास्कोटले २५० नागरिकता र ३४० राष्ट्रिय परिचयपत्र जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए।

रास्कोटमा इलाका प्रशासनसहित दुईवटा बैंक शाखा, इलाका प्रहरी कार्यालय, नगर अस्पताल, खाद्य र नुन व्यापार केन्द्र रहेको छ। सडक बत्ती र सीसी क्यामेरा जडानले नगर सुरक्षा अभियानलाई मद्दत पुग्ने नगर उपप्रमुख मनिराज बरालले बताए। कालिकोटका प्रहरी प्रमुख गणेश ज्ञवालीले अवैध गतिविधि नियन्त्रणमा सीसी क्यामेराले शान्ति सुरक्षामा टेवा पुग्ने बताए।

यसैगरी, कर्णाली प्रदेश सरकारले रास्कोट नगरपालिकालाई डिजिटल नगरपालिका कार्यक्रमका लागि ४९ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए। ‘हामी बनाउँछौं, हाम्रो रास्कोट’ नारासहित नगरपालिकाले समाज सुरक्षित बनाउन निरन्तर पहल गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button