१४ बैशाख २०८३, सोमबार

मनोहरा सुकुम्बासी बस्तीमा सेनाको उपस्थिति, सेनाको भनाइ– ‘जिल्ला सुरक्षा समितिको टोली मात्र’

भक्तपुर — मनोहरा सुकुम्बासी बस्ती भत्काइरहेको ठाउँमा सेनाका प्रमुख सेनानी निरज प्रताप जबरासहित केही सेनाहरू पुगेका छन्। सामान्य अवस्थामा प्रशासनिक कार्यमा सेना परिचालन हुने परम्परा छैन। तर आइतबार प्रमुख सेनानीको नेतृत्वमा भत्कँदो बस्तीमा सेनाको उपस्थिति देखिएपछि विभिन्न प्रश्न उठेका छन्।

शनिबार थापाथली र गैरीगाउँका सुकुम्बासी बस्तीमा डोजर चल्दा पनि सेनाले गस्ती गरेको देखिएको थियो। सुकुम्बासी बस्ती भत्काउने क्रममा सेना परिचालन भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि यसले विवाद निम्त्याएको छ।

यद्यपि सेनाले आफू परिचालन नभएको स्पष्ट पारेको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतले सुकुम्बासी भत्काउने प्रक्रियासँग सेनाको कुनै सम्बन्ध नरहेको र सेना परिचालन नभएको जानकारी दिए। उनका अनुसार मनोहरा बस्तीमा देखिएका सेनाहरू भक्तपुरबाट परिचालन भएका हुन्। ती सेनाहरू जिल्ला सुरक्षा समितिका सदस्य रहेको र अवलोकनका लागि मात्र पुगेको उनको भनाइ छ।

‘जिल्ला सुरक्षा समितिमा सेना पनि हुन्छ। जिल्लाको टोली अवलोकनका लागि पुगेको रहेछ,’ बस्नेतले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button