१४ बैशाख २०८३, सोमबार

हिमाली जिल्लामा यार्सा सिजन सुरु : नेपाल–चीन सीमावर्ती क्षेत्रका बासिन्दा सामूहिक रुपमा लेकतर्फ लागे

गोरखा — जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन्। चुमनुब्री गाउँपालिका–७ स्थित छेकम्पारका बासिन्दा एक साताअघिदेखि पारम्परिक यार्सा सङ्कलनका लागि लेकतिर लागिसकेका छन्। यो दृश्य गोरखा मात्र होइन, नेपाल–चीन सीमावर्ती रहेका संखुवासभा, ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मनाङ, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, कालीकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा, बझाङ, दार्चुला लगायतका हिमाली जिल्लाका गाउँबस्तीमा समेत सुरु भइसकेको छ।

यार्सागुम्बा नै स्थानीय बासिन्दाको मुख्य आम्दानीको स्रोत भएकाले हिउँ पग्लिन थालेपछि सामूहिक रूपमा लेकतिर जाने परम्परा रहँदै आएको छ। तिब्बती सीमाना आसपासका छेके, बाजु, कालापहाड, लगायत ४ हजार मिटरभन्दा माथिका लेकमा पुगेर यार्सा सङ्कलन गरिन्छ। याक, चौँरी, घोडा र खच्चरमा खाद्यान्न तथा दैनिक उपभोग्य सामान ढुवानी गरेर परिवारका सक्षम सदस्यहरू लेकतिर जाने गरेका छन्।

‘लेक गएपछि एक महिनासम्म उतै पाल टाँगेर बस्नुपर्छ,’ लेकतर्फ जाने क्रममा स्थानीय फुर्बु लामाले भने, ‘घरमा बुढापाका मात्र छाडेर अरू सबै लेकतिरै जान्छौं। कोही गइसके, कोही जाने तयारीमा छन्।’

यार्सागुम्बा बेचेर वर्षभरिको खर्चधान जोहो गर्नुपर्ने बाध्यता छ। यसै कारण अन्य सबै काम छाडेर सिजनको समयमा बासिन्दा लेकतिर जान बाध्य छन्। यस पटक भने बालबालिकाको शिक्षामा केही राहत मिलेको छ। बुद्ध आधारभूत विद्यालयले आवासीय सुविधासहित पठनपाठनको व्यवस्था गरेपछि बालबालिका यार्सा सङ्कलनमा जानुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन्।

नेपाल–तिब्बत सीमावर्ती अधिकांश हिमाली भेगमा अहिले यार्सागुम्बा सङ्कलनको मुख्य सिजन चलिरहेको छ। सीमाका यी दुर्गम बस्तीहरूमा संचार, सडक र स्वास्थ्य सुविधाको अभाव भए पनि यार्साकै भरोसामा स्थानीयको अर्थोपार्जन जोडिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button