व्यास नगरपालिकाको ठूलो योजना : मानुङकोटलाई व्यवस्थित पर्यटकीय गाउँ बनाउन ७ सय रोपनी जग्गा एकीकरण हुँदै

दमौली — व्यास नगरपालिकाले पर्यटकीय गन्तव्य मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ। वडा नम्बर ५ स्थित मानुङकोटलाई व्यवस्थित र दिगो विकास गर्ने उद्देश्यले करिब सात सय रोपनी क्षेत्रफलमा आयोजना सञ्चालन गर्न लागिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले मानुङकोटलाई पर्यटकीय ग्रामका रूपमा विकास गर्ने लक्ष्यसहित प्रारम्भिक अध्ययन सकिएको जानकारी दिए। आयोजना नगरपालिकाको जग्गा एकीकरण कार्यान्वयन एकाइमार्फत सञ्चालन गर्ने गरी संस्थागत तयारी भइरहेको उनले बताए।
‘आयोजनाले मानुङकोटलाई योजनाबद्ध पूर्वाधारसहितको आकर्षक पर्यटकीय गन्तव्य बनाउने आधार तयार गर्नेछ,’ लम्सालले भने। आयोजना कार्यान्वयनपछि सडक, खानेपानी, विद्युत्, पदमार्ग, पार्कलगायत पूर्वाधार योजनाबद्ध रूपमा विकास गरिने नगरपालिकाको योजना छ।
दमौली बजार नजिक रहेको मानुङकोट मौलिक पहिचान र दृश्यात्मक सौन्दर्यले पर्यटन विकासको अत्यन्त सम्भावनायुक्त क्षेत्र हो। यहाँबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको अवलोकन गर्न सकिन्छ। दमौली बजार कुहिरोले ढाक्नु पछाडि पौराणिक कथासमेत जोडिएको छ।
सहरी विकास मन्त्रालयको लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको छ। अलैँचेदेखि मानुङकोटसम्म चार हजार ३ सय मिटर सडक कालोपत्र भएको छ। कालोपत्र गर्न कठिन रहेको १८० मिटरमा आरसिसी ढलान गरिएको छ।
पछिल्लो समय मानुङकोटमा पर्यटकको आगमन बढेपछि गाउँ छाडेर शहर झरेका स्थानीयहरू समेत पुनः फर्केर व्यवसाय थाल्न थालेका छन्।





