शिक्षामा डिजिटल प्रणालीदेखि छात्रवृत्तिसम्म : मन्त्री पोखरेल र चिनियाँ राजदूतबीच सहकार्य विस्तारमा छलफल

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुद क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे केन्द्रित छलफल भएको थियो।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको संस्थागत विकास र चिनियाँ सरकारसँगको साझेदारी वृद्धि गर्न चाहेको बताए। उनले शिक्षा क्षेत्रमा सञ्चालित परियोजनाहरू चाँडो सम्पन्न गर्न तथा नेपाली युवाको रुचिअनुसार चीन सरकारले दिने छात्रवृत्तिलाई प्रवर्द्धन गर्न पनि चीन सरकारको ध्यानाकर्षण गराए।
प्रत्युत्तरमा राजदूत माओमिङले नेपाल सरकारले राखेका विषयमा चीन सरकार साझेदारी र सहकार्यका लागि इच्छुक रहेको बताए। भेटमा दुई देशबीचको आपसी हित र बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा समझदारी बनेको जनाइएको छ।





