प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी : निम्तो लिएर विदेश सचिव मिश्रीले काठमाडौं आउने

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको चर्चा चलिरहेका बेला भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने खबर बाहिरिएको छ। मिति तय नभए पनि भारतीय पक्षले प्रधानमन्त्री बालेन्द्र शाहलाई औपचारिक निम्तो हस्तान्तरण गर्न विदेश सचिव मिश्रीलाई सम्भवतः आगामी दुई साताभित्र काठमाडौं पठाउने तयारी थालेको छ।
प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले बालेनलाई बधाई सन्देशसहित काठमाडौंस्थित भारतीय दूतावासमार्फत् भ्रमणको निम्तो दिएका थिए। अब औपचारिक निम्तो हस्तान्तरणकै लागि मिश्री काठमाडौं आउन लागेका हुन्। मिश्री फर्केपछि नेपालबाट परराष्ट्रमन्त्री शिशिर खनालले छिट्टै भारत भ्रमण गर्ने सम्भावना रहेको छ।
तर प्रधानमन्त्री शाहले कूटनीतिक क्रमभंगता गर्दै विदेशी राजदूत तथा राष्ट्र संघका प्रतिनिधिहरूसँग छुट्टै भेट नगरी सामूहिक भेटको मात्र अभ्यास गरेका छन्। यसै अभ्यासका कारण निम्तो लिएर आउँदै गरेका मिश्रीलाई प्रधानमन्त्रीले नभेटे उक्त निम्तो सम्भवतः परराष्ट्र सचिव अमृतबहादुर राईलाई हस्तान्तरण गरी प्रधानमन्त्रीको कार्यालय पुग्ने छ।
प्रधानमन्त्रीको भारत भ्रमणअघि नेपाली परराष्ट्रमन्त्री नयाँ दिल्ली गएपछि भारतीय विदेशमन्त्री एस. जयशंकर नेपाल आउने सम्भावना पनि प्रबल छ। तर प्रधानमन्त्री शाहले आफूभन्दा तल्लो तहका मन्त्री तथा सचिवहरूसँग भेट नगर्ने नीति कायम राखेको अवस्थामा भारतीय पक्षको आशामा ठेस लाग्न सक्ने देखिन्छ। यस बीचमा भारतीय राजदूतले प्रायः सबै मन्त्रीसँग भेट गरे पनि गत शुक्रबार भारतीय दूतावासका डेपुटी चिफ राकेश पाण्डे मन्त्री खनालसँग भेट्न पुगेको सन्दर्भलाई कतिपयले अर्थपूर्ण मानेका छन्।





