१४ बैशाख २०८३, सोमबार

एमाले सचिव बस्नेतको दाबी : माइतीघरमा श्रीमती र अन्य महिलामाथि गालीगलौज तथा हातपात, उल्टै आठ जना पक्राउ

काठमाडौँ — नेकपा (एमाले) का सचिव महेश बस्नेतले आफ्नो र परिवारमाथि भएको साइबर अपराधको उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भिडभाड हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरूले आफ्नो श्रीमतीसहित केही महिलालाई गालीगलौज र हातपात गरेको आरोप लगाएका छन्। उल्टै उनको श्रीमतीसहित आठ जना पक्राउ परेको उनको भनाइ छ।

बस्नेतले यस घटनालाई केही सञ्चार माध्यमहरूले गलत ढंगले प्रस्तुत गरी भ्रामक प्रचार गरिरहेको भन्दै दुःख र आपत्ति व्यक्त गरेका छन्। ‘माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई मन नपरेको व्यक्तिलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय छ,’ उनले भनेका छन्।

एमाले सचिवले संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त नहुने, पीडितले स्वयं न्याय खोज्नुपर्ने अवस्था, उल्टै उनीहरूमाथि हातपात र गिरफ्तारी हुनु लोकतान्त्रिक समाजको लागि राम्रो संकेत नभएको बताए। उनले सम्बन्धित निकायले गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै अन्यथा सशक्त प्रतिरोध गरिने चेतावनी समेत दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button