१४ बैशाख २०८३, सोमबार

प्रधानमन्त्री बालेनको भेट नीति कूटनीतिक वृत्तमा बहसको विषय : अमेरिकी, चिनियाँ अधिकारी एकपछि अर्को काठमाडौंमा

काठमाडौँ — भारतको प्रख्यात दैनिक नवभारत टाइम्सले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अपनाएको भेटघाटको शैली र मापदण्डबारे विस्तृत चर्चा गरेको छ। नवभारत टाइम्सको अनलाइन संस्करणमा प्रकाशित रिपोर्टअनुसार नेपालमा नयाँ सरकार बनेपछि विदेशी कूटनीतिज्ञहरू प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्रीसँग भेट्न बाध्य भएको मान्यता बनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले ‘आफूभन्दा तल्लो तहका विदेशी पदाधिकारीहरूसँग भेट नगर्ने’ मापदण्ड बनाएपछि विदेशी पदाधिकारीहरूको भेटघाटको तालिका नै परिवर्तन भएको समाचारमा उल्लेख छ।

पछिल्लो समय अमेरिकी उच्च अधिकारीहरू एकपछि अर्को नेपाल भ्रमणको तयारीमा रहेका छन्। गत साता मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीन दिने भ्रमण सकाएर फर्किसकेका छन्। अब भारतका लागि अमेरिकी राजदूत तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका अति विश्वासपात्र मानिने विशेष दूत सर्जियो गोर ३० अप्रिलमा चार दिने भ्रमणका लागि काठमाडौं आउने तयारीमा रहेको नवभारत टाइम्सले जनाएको छ। गोर वर्तमानमा भारतमा अमेरिकी राजदूतका रूपमा कार्यरत छन् र उनलाई ट्रम्पको निकटतम पात्रका रूपमा चिनिन्छ।

प्रधानमन्त्रीले भने ‘मन्त्रीभन्दा तलका विदेशी अधिकारीसँग भेट नहुने’ नीति लिएकाले गोरजस्ता प्रभावशाली तर औपचारिक रूपमा मन्त्री नभएका दूतलाई भेट दिइएला कि नदिइएला भन्ने चर्चाले कूटनीतिक वृत्त तातेको पनि समाचारमा उल्लेख छ। यसलाई कसैले प्राथमिकता व्यवस्थापन (प्रायोरिटी म्यानेजमेन्ट) र कसैले कूटनीतिक सन्तुलन बिग्रने संकेतका रूपमा हेरेको नवभारत टाइम्सले उल्लेख गरेको छ। यतिबेला चीनले पनि नेपालमा आफ्नो कूटनीतिक उपस्थिति बढाएको छ। चीनकाे उपनिर्देशक काओ झिङ पनि काठमाडौंमा सक्रिय रहेको समाचारमा उल्लेख छ।

नवभारत टाइम्सका अनुसार अमेरिकाले नेपाललाई आफ्नो इन्डो–प्यासिफिक रणनीतिको एक महत्वपूर्ण अंग मान्दै लगानी र परियोजना अघि बढाउन चाहन्छ। अमेरिकाले नेपाल पूर्ण रूपमा चीनको प्रभाव क्षेत्रमा जान नदिन सहायक विदेशमन्त्री कपुर र अब विशेष दूत गोर मार्फत कूटनीतिक पहल जारी राखेको देखिन्छ। नेपालमा रहेका तिब्बती शरणार्थीको विषय मानवअधिकार र चीनलाई घेर्ने दृष्टिले अमेरिकाका लागि सधैं महत्वपूर्ण रहँदै आएको छ र गोरले पनि आफ्नो भेटवार्तामा तिब्बतको मुद्दा उठाउन सक्ने सम्भावना छ।

प्रधानमन्त्री बालेनलाई भारतीय अखबारले नेपालका पुराना नेता नभई कांग्रेस वा कम्युनिस्ट नभएको र स्वतन्त्र नेता भएको विशेषता उल्लेख गर्दै उनको असल पक्ष यही रहेको उल्लेख गरेको छ। तर, के बालेनको भेटघाटको मापदण्ड कूटनीतिक रूपमा सन्तुलनकारी हुनेछ या जोखिमपूर्ण साबित हुनेछ भन्ने बहस उत्तिकै चर्चाको विषय बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button