१४ बैशाख २०८३, सोमबार

गान्तोकमा प्रधानमन्त्री मोदीको भव्य स्वागत : सांस्कृतिक झाँकी र नौमती बाजाले गुञ्जियो राजधानी

गान्तोक — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सिक्किमको ५० वर्षे राज्यत्व समारोहको समापन कार्यक्रममा सहभागी हुन आइतबार गान्तोक पुगेका छन्। दुई दिने भ्रमणका क्रममा सोमबार पाल्जोर रंगशालामा हुने समापन समारोह लगायतका औपचारिक कार्यक्रममा उनको सहभागिता रहने छ।

लिबिङ हेलिप्याडबाट देउराली उत्रनेबित्तिकै प्रधानमन्त्री मोदीलाई उत्साही जनसमुदायले भव्य स्वागत गरेको थियो। बाटोभरि लहरै उभिएका स्थानीय बासिन्दा, विद्यार्थी र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले झण्डा फहराउँदै र करतल ध्वनि गर्दै अभिवादन गरेका थिए भने नौमती बाजाको लयले सम्पूर्ण वातावरण सङ्गीतमय बनाएको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङ र राज्य भाजपा अध्यक्ष डीआर थापासहितको उपस्थितिमा प्रधानमन्त्रीको काफिला गन्जु लामा द्वारदेखि लोक भवनसम्मको सडक यात्रामा निस्केको थियो।

लाल बजार फाटकमा सिक्किम मारवाडी समाज र मुस्लिम समुदायका सदस्यले नारा र जयघोषका साथ स्वागत गरे। अस्पताल डारामा तामाङ समुदायले परम्परागत नृत्य प्रस्तुत गरे भने जिरो पोइन्टमा स्वसहायता समूह र नेवार घुटीले लाखे नृत्यको प्रस्तुति दिए, जुन राक्षसमाथि देवताको विजयको प्रतीक मानिन्छ। टासी नाम्ग्याल एकेडेमी गेटमा लाचेन–मंगन, जोङ्गु र काबी–टिङ्दाका प्रतिनिधिले स्वागत गरे। यसैगरी, गुरुङ समुदायले खैजडी तालसहित परम्परागत लोकगीत प्रस्तुत गरेका थिए भने अवकाशप्राप्त सिक्किम सशस्त्र प्रहरीका जवान र तासिलिङ सचिवालयका कर्मचारी पनि उपस्थित थिए।

प्रधानमन्त्री मोदी पछि लोक भवन पुगेका थिए, जहाँ राज्यपाल ओमप्रकाश माथुर, राज्यपालका आयुक्त–सह–सचिव जितेन्द्रसिंह राजे र राज्य सरकारका अधिकारीहरूले उनको स्वागत गरे। यो भ्रमणले सिक्किमको विकास र केन्द्र सरकारसँगको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button