रुस–इरान रक्षा सहकार्य : बेलोउसोभ र इरानी उपमन्त्रीबीच भेट, द्वन्द्व कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमति

मस्को — रुसी रक्षामन्त्री आन्द्रेई बेलोउसोभ र इस्लामिक गणतन्त्र इरानको रक्षा मन्त्रालयका रणनीतिक योजना उपमन्त्री ब्रिगेडियर जनरल रेजा तलाए–निकबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा रुस–इरान रक्षा सहकार्य र आपसी चासोका विविध विषयमा छलफल भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।
रुसी रक्षामन्त्री बेलोउसोभले द्वन्द्वको समाधान विशेषगरी कूटनीतिक माध्यमबाट मात्र सम्भव रहेको धारणा राख्दै इरानको सार्वभौमिकता तथा भौगोलिक अखण्डताप्रति रुसको समर्थन रहेको स्पष्ट पारे। उनले ईरानी जनता र सशस्त्र सेनाप्रति एकताको भाव राष्ट्रको सम्मुख रहेका सबै चुनौती पार गर्न साहस र समर्पणको शुभेच्छा व्यक्त गरे। ‘हामी यस परिस्थितिको समाधानका लागि सबै सम्भव प्रयास गर्न तयार छौं,’ बेलोउसोभले भने।
रुसी रक्षा मन्त्रीले मस्को र तेहरानले पहिलेजस्तै भविष्यमा पनि हरेक परिस्थितिमा एकअर्काको साथ दिने विश्वास व्यक्त गरे। प्रतिक्रियामा ब्रिगेडियर जनरल तलाए–निकले द्विपक्षीय सहकार्यका ज्वलन्त विषयमा छलफलको अवसर दिएकामा बेलोउसोभप्रति आभार व्यक्त गरे।




