कर्णाली प्रदेशसभाको आठौं अधिवेशन बुधबार आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गरिएको छ। प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए।
प्रवक्ता शाहका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको पहिलो बैठक यही वैशाख २८ गते बुधबार दिउँसो ३ बजे बस्ने गरी आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो। यसअघि गत चैत १५ गते कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशन अन्त्य भएको थियो। आठौं अधिवेशनमा प्रदेश सरकारले विभिन्न महत्त्वपूर्ण विधेयक तथा प्रस्तावहरू प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ।





