१५ बैशाख २०८३, मंगलवार

तीन दिनमा ३,९५५ विस्थापित : डोजरपछि भग्नावशेषमा बस्ती, आधाभन्दा बढी आफैं बास खोज्दै गए, सरकारी तथ्याङ्कमै एकरूपता छैन

काठमाडौं — सरकारले शनिबारदेखि सोमबारसम्म तीन दिन काठमाडौंका थापाथली, गैरीगाउँ र मनोहरा सुकुम्बासी बस्तीमा डोजर चलाएर तीन हजार नौ सय ५५ जनालाई विस्थापित गरेको छ। ती बस्ती अहिले पूर्ण रूपमा भग्नावशेषमा परिणत भइसकेका छन्।

सहरी विकास मन्त्रालयकी विकास आयुक्त जानुका ढकालका अनुसार बस्तीबाट उठाइएका धेरै नागरिक भने आफैं बासस्थान खोज्दै निस्किएका छन् भने केहीलाई सरकारले विभिन्न स्थानमा राखेको छ। विस्थापित भएका ९३६ घरधुरीका तीन हजार नौ सय ५५ जनामध्ये सरकारले पाँच सय ५५ जनाको मात्र उद्धार गरी हाल उनीहरूलाई अस्थायी रूपमा विभिन्न होटलमा राखेको छ।

सोमबारसम्म कीर्तिपुरस्थित स्वामी सत्संगको भवनमा ४७ जनालाई राखिएको छ भने अन्यलाई विभिन्न होटलमा राखिए पनि कुन–कुन होटलमा राखिएको भन्नेबारे विकास आयुक्त ढकालले जानकारी दिन सकिनन्। काठमाडौं नगर प्रहरी प्रमुख विष्णु जोशीले उद्धार गरिएकाहरूलाई बालाजु र माछापोखरी क्षेत्रका होटलमा राखिएको बताए पनि आफूसँग होटलको नामावली नभएको जनाए। यस्तै, महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेले उद्धार गरिएकाबारेमा आफूसँग कुनै जानकारी नरहेको बताए।

सुकुम्बासी बस्ती भत्काउन आदेश दिने जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग पनि विस्थापित र उद्धार गरिएकाहरूको यकिन विवरण छैन। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले विस्थापित र उद्धारबारे जानकारी नरहेको बताउँदै ‘सहरी विकास मन्त्रालय लगायत निकायले व्यवस्थापन गर्ने भनेको छ, उनीहरूसँग विवरण होला, हामीसँग अहिले छैन’ भने।

विकास आयुक्त ढकालले विस्थापितहरू सरकारको सम्पर्कमा आउने क्रम जारी रहेको र उक्त तथ्याङ्क सोमबार साँझसम्मको मात्र भएको जानकारी दिइन्। बस्ती पूर्ण रूपमा भग्नावशेषमा परिणत भइसक्दा पनि सरकारी निकायहरूबीच एकरूप तथ्याङ्क नहुनु र विस्थापित तथा उद्धार गरिएकाहरूको अभिलेख नै उपलब्ध नहुनुले प्रशासनिक गम्भीरतामाथि प्रश्न उठेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button