‘भेप’ मा सुन तस्करी प्रकरण : उजुरकर्तामाथि नै मुद्दा, भन्सार कर्मचारी आतंकित

काठमाडौँ — विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा उजुरकर्तामाथि नै अख्तियारले मुद्दा चलाएपछि भन्सार कर्मचारी आतंकित भएका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख सहसचिव अरुण पोखरेलले तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यलाई सुन तस्करीको सूचना दिएका थिए। तर गृहमन्त्रीको दबाबमा पोखरेललाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्दा चलाएपछि कर्मचारी वृत्तमा खैलाबैला मच्चिएको छ।
भन्सार कर्मचारीकै मिलेमतोमा सुन तस्करी भएको यस प्रकरणमा अख्तियारले पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलविरुद्ध पनि मुद्दा दर्ता गरेको छ। तीन वर्षअघि चिनियाँ गिरोहले भेपको आवरणमा सुन भित्र्याउन खोज्दा भन्सारले बरामद गरेको थियो। पाँच महिनापछि भेपमा सुन रहेको तथ्य खुलेपछि अनुसन्धान हुँदा महराको संलग्नता खुलेको दाबी गरिए पनि अदालतको आदेशले गत वर्ष धरौटीमा छुटे।
अनुसन्धानका क्रममा नासु रेवन्त खड्का र लोडर दिनेश बस्नेतको मिलेमतोमा भेपभित्र हालिएको सुन निकाली बेच्ने काम भएको तथ्य पत्ता लाग्यो। त्यसपछि भन्सार प्रमुख पोखरेलले सीआईबीलाई खबर गरे। उच्च स्रोतका अनुसार, जसले उजुरी दिएको छ, उसैलाई प्रतिवादी बनाइएको छ। सहसचिव दर्जाका पोखरेललाई विशिष्ट श्रेणीवाला दफा लगाएर थप सजाय दिन खोजिएको स्रोतको दाबी छ।
भन्सारलाई साधन, स्रोत र प्रविधियुक्त नबनाउनुको परिणामका रूपमा पनि यो घटनालाई हेरिएको छ। अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा अहिले पनि झोला छामेर चेकजाँच गर्नुपर्ने बाध्यता छ। डेट एक्सपायर भइसकेका पुराना एक्स–रे मेसिनको भरमा सुन तस्करी नियन्त्रण गर्नुपर्दा कर्मचारीहरू थप चुनौतीमा परेका छन्। भन्सार स्रोतका अनुसार हाल रहेको एक्सरे मेसिनले सुन, सिसा र मक्र्युरीलाई उस्तै कालो डट देखाउँछ। विकसित देशमा इमेज स्पष्ट देखिने उच्च प्रविधियुक्त एक्स–रे मेसिन हुन्छ। ५० वर्ष पुरानो प्रविधि भएकाले चाहेर पनि तस्करी नियन्त्रण गर्न नसकिने भन्सार स्रोतको दाबी छ।





