१५ बैशाख २०८३, मंगलवार

रौतहटमा सडक–नाली निर्माणमा अनियमितताको आरोप : निर्माण कम्पनी सरकारी इञ्जिनियरकै आफन्तको, स्थानीयको विरोध

रौतहट — चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती टोलमा सडक तथा नाली निर्माणमा अनियमितता भएको भन्दै स्थानीयले विरोध गरेका छन्। सडक डिभिजन कार्यालयका इञ्जिनियर सुरेन्द्र साहले आफन्तको नाममा निर्माण कम्पनी दर्ता गरेर सोही कम्पनीमार्फत् सडक र नाली निर्माणको काम गराएको स्थानीयको आरोप छ। निर्माण कार्यमा सुरुदेखि नै गुणस्तरमा कमी देखिएको उनीहरूको दाबी छ।

कार्यालयले उक्त वडामा निर्माणाधीन सडक र नालीका लागि १ करोड ८३ लाख ९९ हजार ३ सय ६६ रुपैयाँ ७८ पैसा बजेट तोकेको छ। गायत्री मा/एस.के.एस.ए.जे.भी जनकपुर–१३ धनुषाले निर्माणको जिम्मेवारी पाएको छ। कम्पनीका सञ्चालक जोगेन्द्र साह उनै इञ्जिनियरका सहोदर काका रहेको स्थानीयले बताएका छन्।

स्थानीय उपेन्द्र यादवले ग्रेडिङ नगरी हतारमा ढुंगा बिच्छाएको, नालीमा कमजोर तथा कमसल सामग्री प्रयोग गरेको आरोप लगाए। उनीहरूले गुणस्तरीय निर्माणको माग गर्दै काम रोक्न दबाब दिएका छन्। स्थानीयको विरोधपछि प्राविधिकहरू दलबलसहित गाउँ पुगेपछि तनावको वातावरण उत्पन्न भएको बताइन्छ।

गत मंसिर ८ गते सम्झौता भएको ठेक्का आगामी असार २० गते सम्पन्न गर्नुपर्ने छ। हतारमा गरिएको गुणस्तरहीन कार्यले राज्यको ठूलो नोक्सानी हुने अवस्था रहेको स्थानीय देवेन्द्र यादवको भनाइ छ। सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्राविधिकले आफू इञ्जिनियर रहेको उल्लेख गर्दै काममा अवरोध नगर्न चेतावनी दिएको देखिन्छ।

स्थानीयले घटनाको छानबिन गरी गुणस्तरहीन निर्माण कार्य तत्काल रोक्न सम्बन्धित निकायसँग माग गरेका छन्। सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरूको संलग्नताबारे पनि आशंका गरिएको छ। यो घटनाले सरकारी निर्माण कार्यमा पारदर्शिता र गुणस्तरको कडा अनुगमन आवश्यक देखाएको स्थानीय बिगु सहनीको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button