कांग्रेसका पूर्वसभापति देउवापक्षीय नेताहरूको बैठक धुम्बाराहीमा सुरु

काठमाडौँ — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवापक्षका नेताहरूको बैठक धुम्बाराहीस्थित एक होटलमा मंगलबार सुरु भएको छ। पूर्वउपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा जारी बैठकमा विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, शशांक कोइराला, डा. प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला र सुजाता कोइरालालगायतका नेता सहभागी छन्।
यसअघि ६ वैशाखमा सोही स्थानमा बसेको बैठकले ‘पर्ख र हेर’ (वेट एन्ड वाच) को रणनीति अपनाउने निष्कर्ष निकालेको थियो। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएपछि देउवा समूह असन्तुष्ट देखिँदै आएको छ। बैठकले वर्तमान पार्टी नेतृत्व तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिरहेको बुझिएको छ।





