कर्णालीको गाउँपालिकामा ठेकेदारी सक्रिय : एक दर्जन पोखरी प्रयोगविहीन, अर्बौंको बजेट खेर

कर्णाली — कर्णाली प्रदेशको अदानचुली गाउँपालिकामा आवश्यकताभन्दा पनि पहुँच र भनसुनका आधारमा बजेट विनियोजन गरी निर्माण गरिएका एक दर्जन पोखरी प्रयोगविहीन बनेका छन्। टालटुल ढंगले निर्माण गरिएकाले दुई वर्ष नबित्दै जीर्ण अवस्थामा पुगेर ती पोखरी प्रयोगविहीन बनेको स्थानीय बासिन्दाले बताएका छन्।
अदानचुली गाउँपालिका–४ लौठी गाउँका जग्गे जैसीले सिंचाइ, खानेपानी र पशुचौपायाका लागि भनेर निर्माण गरिएको पोखरी दुई वर्षमै प्रयोगविहीन भएको जानकारी दिए। उनले गुणस्तरीय निर्माण नभएकै कारण पोखरी काम नलाग्ने अवस्थामा पुगेको बताए। उनका अनुसार आफ्नो वडामा मात्र तीनवटा पोखरी रहेको, जसले एकदेखि दुई वर्षसम्म मात्र सेवा दिएर हाल सबै जीर्ण अवस्थामा पुगेको छ।
अदानचुली गाउँपालिका–२ रोकायाबाडामा निर्मित पोखरी पनि उस्तै अवस्थाको छ। स्थानीय जंगबहादुर रोकायाले उक्त पोखरी एकपटक मात्र पानी भरिएको र हाल जीर्ण अवस्थामा रहेको बताए। कतिपय स्थानमा पोखरी निर्माण भए पनि एक थोपा पानीसमेत नजम्ने गरेको उनको गुनासो छ।
कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा गाउँपालिकामार्फत निर्माण गरिएकामध्ये हाल एक दर्जन पोखरी पूर्ण रूपमा अनुपयोगी बनेका छन्। प्रत्येक पोखरी निर्माणमा १५ देखि २० लाख रुपैयाँ खर्च भएको छ। कुल करिब दुई करोड रुपैयाँ खर्च भए पनि ती सबै हाल प्रयोगविहीन अवस्थामा छन्। स्थानीय जनक फडेराले यसलाई ‘बालुवामा पानी खन्याएजस्तै’ भएको टिप्पणी गरेका छन्। यसले विकासको नाममा राज्यकोषको ठूलो दुरुपयोग भएको देखाउँछ।





