१५ बैशाख २०८३, मंगलवार

सिन्धुलीका श्रीकृष्ण विकको हिरासतमा मृत्यु : दलित अधिकारकर्मीले ‘हत्या’ भन्दै रास्वपा सभापति लामिछानेलाई ज्ञापनपत्र

काठमाडौँ — सिन्धुलीका श्रीकृष्ण विकको प्रहरी हिरासतमा भएको मृत्युको सत्यतथ्य छानबिन गर्न माग गर्दै दलित अधिकारकर्मीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएका छन्। राजधानीमा आयोजित समन्वयात्मक बैठकपछि दलित सांसद, दलित नागरिक समाज र संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले ध्यानाकर्षण गराएको हो।

सांसद तथा दलित अधिकारकर्मी गणेश विश्वकर्माले श्रीकृष्णको मृत्यु ‘आत्महत्या नभई सुनियोजित हत्या’ भएको आरोप लगाए। पूर्वराजदूत पदम सुन्दासले ‘सरकारले दलितलाई कहिलेसम्म मार्ने?’ भन्दै आक्रोश व्यक्त गर्दै घटनाको गम्भीर छानबिन गरी न्याय दिन माग गरे। सांसद विकेले सत्यतथ्य छानबिन नभए दलितहरू सडकमा उत्रिने चेतावनी दिए।

गत बैशाख १० र ११ गते सिन्धुलीको खुर्कोट र जिल्ला सदरमुकाममा अनुगमन गरेका सांसद, अधिकारकर्मी तथा पत्रकारहरूले १२ गते काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण दबाब सिर्जना गरेका थिए। सोमबार पनि राजधानीमा दलित अधिकारकर्मीले ‘समन्वयात्मक बैठक’ गरी विकको न्यायका लागि छलफल गरेका हुन्।

सुनकोशी गाउँपालिका–३ का २३ वर्षीय श्रीकृष्ण विक काठमाडौँमा गाडी चालक थिए। उनको कथित उच्च जातकी किशोरीसँग प्रेम सम्बन्ध थियो। २८ चैत २०८२ मा उनीहरूले भागी विवाह गरेकोमा किशोरीको परिवारले उमेर १६ वर्ष मात्र भन्दै जबरजस्ती करणीको जाहेरी दियो। ललितपुरको सातदोबाटो प्रहरीले पक्राउ गरी उनलाई सिन्धुलीको खुर्कोट प्रहरीलाई बुझायो। ४ वैशाखमा खुर्कोट हिरासत पुर्याइएका उनको ७ वैशाखको साँझ प्रहरीले शौचालयमा झुण्डिएको अवस्थामा ‘आत्महत्या’ भन्दै खबर दियो।

तर, ५ फिट अग्ला श्रीकृष्ण ३ फिटको झ्यालमा झुण्डिएको अवस्थामा भेटिनु, शरीरमा निलडाम हुनु र प्रहरीले सीसीटीभी फुटेज देखाउन आलटाल गर्नुले हत्या नै गरिएको आशंका प्रबल बनेको छ। दलित समुदायले यस घटनाको स्वतन्त्र छानबिन र दोषीलाई कारबाहीको माग गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button