त्रिवि परिसरमा विद्यार्थीको मार्चपास : स्ववियु खारेज र संगठनमाथि प्रतिबन्धको विरोध

काठमाडौँ — संयुक्त विद्यार्थी आन्दोलनले विभिन्न राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीको विरोधमा त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ। विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय घण्टाघरदेखि टीयु गेटसम्म मार्चपास गर्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।
विद्यार्थी नेताहरूले सरकारको उक्त निर्णय संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुनुका साथै नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थाहरूलाई ब्यारेकीकरण गर्ने अभ्यास बन्द गर्न र योग्यता प्रणाली (मेरिटोक्रेसी) लागू गर्न पनि आग्रह गरेका छन्।
विद्यार्थीहरूले यातायातमा पाउँदै आएको ४५ प्रतिशत भाडा छुट यथावत् राख्न र विद्यार्थी संगठनमाथिको प्रतिबन्धसँगै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने निर्णय फिर्ता लिन पनि माग गरेका छन्। उक्त मागसहित विद्यार्थीहरूले मार्चपासमार्फत सरकारको निर्णयप्रति आफ्नो असहमति जनाएका छन्।





