प्रधानमन्त्री मोदीको सिक्किम भ्रमण : असम्भवलाई सम्भव बनाउने अटल प्रेम, स्वर्णिम महोत्सव ऐतिहासिक

गान्तोक — सिक्किम राज्यको स्वर्णिम महोत्सवको समापन समारोहमा उपस्थित भई राज्यलाई आशीर्वाद दिने प्रधानमन्त्री नरेन्द्र मोदीप्रति सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ ‘गोले’ ले गहिरो आभार व्यक्त गरेका छन्। उनले प्रधानमन्त्रीको मार्गदर्शन, प्रेरणादायी सम्बोधन र निरन्तर आशीर्वादप्रति राज्य सधैं ऋणी रहने बताएका छन्।
प्रतिकूल मौसमका कारण विमानबाट यात्रा गर्न नसकिएको अवस्थामा पनि प्रधानमन्त्री मोदी बागडोग्राबाट कठिन पहाडी यात्रा गरेर सिक्किम पुग्न तयार रहेको जानकारी दिँदै मुख्यमन्त्री तामाङले प्रधानमन्त्रीको यो असाधारण इच्छाशक्तिले सिक्किमी जनताप्रतिको उनको अटल प्रतिबद्धता, समर्पण र गहिरो माया झल्किएको बताएका छन्।
मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीको उपस्थितिले यो ऐतिहासिक अवसरलाई अविस्मरणीय बनाएको उल्लेख गर्दै गभर्नर ओम प्रकाश माथुर, मन्त्रीहरू, विधायकहरू, पदाधिकारीहरू लगायत सबै सरकारी कर्मचारी, सुरक्षाकर्मी, कलाकार, २१ समुदायका प्रतिनिधि, पूर्वसैनिक, खेलकुद निकाय, विद्यार्थी, स्वयंसेवी संस्था, एनजीओ, आशा कार्यकर्ता, आँगनवाडी कार्यकर्ता तथा सबै धार्मिक प्रतिनिधिहरूप्रति पनि आभार व्यक्त गरेका छन्। साथै, सिक्किम क्रान्तिकारी मोर्चा र भारतीय जनता पार्टीका सबै पदाधिकारी तथा स्वयंसेवीहरूको योगदानको पनि प्रशंसा गरेका छन्।





