बहुध्रुवीय विश्वको साझा सङ्कल्प

काठमाडौं — रुसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले मुस्लिम राष्ट्रहरूसँगको सम्बन्धलाई बहुआयामिक साझेदारीमा विकास गर्ने पारस्परिक चाहना रहेको बताएका छन्।
रुसको काजान सहरमा सोमबारदेखि सुरु भएको १७औं अन्तर्राष्ट्रिय आर्थिक मञ्च ‘रसिया–इस्लामिक विश्व : काजानमञ्च’ का आयोजक, सहभागी तथा अतिथिहरूलाई सम्बोधन गर्दै मन्त्री लाभरोभले संस्कृति, धर्म र सभ्यताबीचको संवादका लागि काजान पुनः एकपटक उपयुक्त मञ्च बनेकोमा खुसी व्यक्त गरे।
उनले अन्तर्राष्ट्रिय कानुनको सर्वमान्य सिद्धान्त, समानता, पारस्परिक सम्मान र विकास मोडलको विविधतामा आधारित बहुध्रुवीय विश्व निर्माणप्रति दुवै पक्ष प्रतिबद्ध रहेको स्पष्ट पारे। मञ्चले व्यापार–आर्थिक सम्बन्ध प्रवर्द्धन, लगानी परियोजना कार्यान्वयन, व्यापारिक मार्ग निर्माण र प्राविधिक गठबन्धन स्थापनामा सहयोग पुग्ने लाभरोभको भनाइ छ।
‘रसिया–इस्लामिक विश्व’ रणनीतिक दृष्टिकोण समूहले यस साझा प्रयासमा योगदान पुर्याइरहेको उल्लेख गर्दै उनले मञ्चको सफलताको शुभकामना व्यक्त गरे।





