कूटनीतिबाटै समाधान खोज्ने रुस–इरान सहमति

काठमाडौं — रुसी रक्षामन्त्री आन्द्रेई बेलोउसोभले इरानको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति पूर्ण ऐक्यबद्धता जनाएका छन्।
इरानी उपरक्षामन्त्री ब्रिगेडियर जनरल रेजा तलाइ–निकसँगको भेटवार्तामा मन्त्री बेलोउसोभले द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट मात्रै हुनुपर्ने धारणा राखे। ‘हामी इरानको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको समर्थन गर्छौं। भ्रातृ इरानी जनता र सशस्त्र बललाई सबै चुनौती सामना गर्ने दृढता र साहसको शुभकामना व्यक्त गर्दछौं। यो परिस्थिति समाधान गर्न हामी हरसम्भव प्रयास गर्न तयार छौं,’ बेलोउसोभले भने।
रुसी रक्षा मन्त्रालयका अनुसार बेलोउसोभले जुनसुकै परिस्थितिमा पनि मस्को र तेहरान एक–अर्कालाई समर्थन गर्न सक्षम रहने विश्वास व्यक्त गरे। जवाफमा ब्रिगेडियर जनरल तलाइ–निकले द्विपक्षीय सहकार्यका महत्त्वपूर्ण विषयमा छलफलको अवसर दिएकोमा रुसी रक्षामन्त्रीप्रति आभार प्रकट गरे।





