१५ बैशाख २०८३, मंगलवार

भारतको अधिकांश भाग लूको चपेटामा : जैसलमेरमा छायो ४६.४ डिग्री, आम जनतालाई सतर्कता अपनाउन आग्रह

नयाँ दिल्ली — पछिल्लो केही दिनयता भारतको अधिकांश भागमा भीषण लू (हिटवेभ) को अवस्था जारी रहेको छ। बालबालिकालाई हिटस्ट्रोक जस्ता स्वास्थ्य समस्याबाट जोगाउन धेरै स्थानमा प्राथमिक विद्यालय बन्द गरिएको छ भने अन्यत्र विद्यालयको समय परिवर्तन गरिएको छ।

भारतीय मौसम विभाग (आइएमडी) का अनुसार पश्चिमी राजस्थानको जैसलमेर र बाडमेर जिल्ला सोमबार सबैभन्दा तातो स्थान रहेको छ, जहाँ तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको छ। पूर्वी ओडिशा राज्यको झारसुगुडा जिल्लाले सामान्य तापक्रमको तुलनामा ४.२ डिग्री सेल्सियसले बढी ४४.८ डिग्री सेल्सियस रेकर्ड गरेको छ। राजधानी नयाँ दिल्लीले शनिबार सबैभन्दा बढी ४२.८ डिग्री सेल्सियस रेकर्ड गरेको थियो।

आइएमडीका अनुसार आइतबार दक्षिण–पश्चिमी महाराष्ट्रका धेरै स्थानमा, विशेषगरी अकोला, वर्धा र अमरावतीमा उच्च तापक्रम ४६.९ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको थियो। विभागले बारम्बार स्वास्थ्य सल्लाह जारी गर्दै सर्वसाधारणलाई आफूलाई हाइड्रेटेड राख्न र अपराह्न १२:०० देखि ०४:०० बजेभित्र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ।

सावधानीका रूपमा केन्द्रीय दिल्लीको राम मनोहर लोहिया अस्पतालमा हिटस्ट्रोकका बिरामीको उपचारका लागि नयाँ वार्ड खोलिएको छ। अत्यधिक गर्मीले जनजीवन प्रभावित बनाएकाले सरकारी र गैरसरकारी दुवै क्षेत्रले सतर्कता अपनाउन आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button