१६ बैशाख २०८३, बुधबार

खुट्टाले लेख्ने सन्देशको सपनामा शिवम् सिमेन्टको साथ, काठमाडौंमा पढ्ने बाटो खुल्यो

काठमाडौं — जन्मजात दुवै हात नचल्ने तर खुट्टाको औंलाले लेखेर पढाइलाई निरन्तरता दिइरहेका रोल्पाका १२ वर्षीय सन्देश बुढा मगरको शैक्षिक यात्राले नयाँ मोड लिएको छ। कान्तिपुरमा गत चैत ११ गते ‘खुट्टाले लेखेर परीक्षा दिँदै सन्देश’ शीर्षकमा समाचार प्रकाशित भएपछि शिवम् सिमेन्ट लिमिटेडले उनको माध्यमिक तहसम्मको सम्पूर्ण अध्ययनको जिम्मा लिएको हो।

कम्पनीका मार्केटिङ डेपुटी जनरल म्यानेजर केशव अर्याल स्वयं रोल्पा पुगेर सन्देशलाई काठमाडौं ल्याउने व्यवस्था मिलाए। कम्पनीले सन्देशलाई जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा भर्ना गराएको छ। आवास, हेरचाह र शिक्षाको अर्धवार्षिक खर्चसमेत कम्पनीले नै बेहोर्ने भएको छ।

रोल्पा नगरपालिका–१० धाङसीका सन्देशले स्थानीय धबाङ प्राविबाट खुट्टाले लेखेरै कक्षा ५ उत्तीर्ण गरेका थिए। आर्थिक अवस्था कमजोर र अपाङ्गमैत्री विद्यालयको अभावले थप अध्ययन अनिश्चित बनेका बेला समाचारले उनको भाग्य खोलिदिएको छ। शिवम् सिमेन्टका प्रतिनिधिले सन्देशको पारिवारिक अवस्था र घरको समेत अध्ययन गरेका थिए।

‘विशेष क्षमता भएका बालकलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौं। शिक्षा नै सशक्त भविष्यको आधार हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अर्यालका अनुसार सन्देशको उपचारका लागि पनि विशेषज्ञ चिकित्सकसँग परामर्श गरिनेछ।

सन्देशको भिडियो स्थानीय शिक्षक खिम बुढा मगरले खिचेका थिए। त्यसपछि कान्तिपुरलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट सहयोगको हात अघि बढेको थियो। विद्यालयका प्रधानाध्यापक जयनसिं बुढा मगरले अपाङ्गता भएका विद्यार्थीले पढ्ने र उपचार गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे। सन्देशका बुबा रामुले अब छोराले उचित हेरचाह र शिक्षा पाउनेमा आशावादी रहेको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button