बिरामी मृत्युपछि चिकित्सकमाथि आक्रमण प्रयास, भेरी अस्पतालका सबै सेवा ठप्प

काठमाडौं — भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीसहित चिकित्सकमाथि हातपातको प्रयास, दुर्व्यवहार र ज्यान मार्ने धम्की आएपछि अस्पतालका सम्पूर्ण चिकित्सक आन्दोलनमा उत्रिएका छन्। इमर्जेन्सीबाहेक सबै सेवा ठप्प पारिएको छ।
बैजनाथ गाउँपालिका–६ बाँकेकी ६२ वर्षीया दिलसरा विकको उपचारका क्रममा वैशाख १३ गते मृत्यु भएको थियो। सोही विषयलाई लिएर मंगलबार मृतकका छोरा सुरेश विकसहितको समूह डा. सुवेदीको कार्यकक्षमा पसेर हातपातको प्रयास र गाली बेइज्जती गरेको प्रत्यक्षदर्शी चिकित्सकले बताए। प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलगायतलाई ज्यान मार्ने धम्की समेत दिइएको अस्पताल प्रशासनले जनाएको छ।
‘उपचारका क्रममा बिरामीको मृत्यु हुँदा हामीलाई पनि दुःख लागेको छ। तर उपचार प्रक्रियामा चित्त नबुझे कानुनी बाटो खुला हुँदाहुँदै चिकित्सकमाथि आक्रमणको प्रयास र धम्की आउनु शोभनीय होइन,’ डा. सुवेदीले भने, ‘दोषीलाई कारबाही र सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म काममा फर्किने अवस्था छैन।’
यसअघि सोमबार प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारको सहजीकरणमा चिकित्सक र मृतकका आफन्तबीच उपचारमा संलग्न चिकित्सकमाथि कानुनी उपचार खोज्ने र मंगलबार शव पोष्टमार्टम गरेर बुझ्ने सहमति भएको थियो। सोहीअनुसार पीडित परिवारले सोमबार नै प्रहरीमा जाहेरी पनि दिएका थिए। तर, सहमति भइसकेकै दिन आफ्नो कार्यकक्षमा प्रवेश गरेर आक्रमणको प्रयास भएको डा. सुवेदीले बताए। मृतकका छोरा सुरेशले भने हातपात नगरेको दाबी गरेका छन्।





