युद्धविरामकै बीच दक्षिण लेबनानमा इजरायली हमला, सातको मृत्यु

काठमाडौं — इजरायल र लेबनानबीच युद्धविराम जारी रहेकै अवस्थामा मंगलबार दक्षिण लेबनानमा भएका इजरायली हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना लेबनानी नागरिक सुरक्षाका उद्धारकर्मी रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार मज्दाल जोउन गाउँमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। उद्धार कार्यमा खटिएकै बेला निशाना बनाइएपछि तीन सिभिल डिफेन्स पारामेडिक भग्नावशेषमुनि पुरिएका थिए। सोही आक्रमणमा दुई लेबनानी सेनाका सैनिक घाइते भएका छन्।
मंगलबार राति दक्षिणी गाउँ जिबचितमा भएको अर्को इजरायली हमलामा दुई जनाको मृत्यु र १३ जना घाइते भएको केन्द्रले जनाएको छ। लेबनानी राष्ट्रपति जोसेफ आउनले उद्धारकर्मीमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको भन्दै निन्दा गरेका छन्।
उता, हिजबुल्लाहले मंगलबार नै एक विज्ञप्तिमार्फत दक्षिणी सहर कन्तारामाथि इजरायली सेनाको हर्मेस ९०० ड्रोनलाई सतहदेखि हावामा प्रहार गर्ने क्षेप्यास्त्रले खसालेको दाबी गरेको छ। इजरायली सेनाले भने दक्षिण लेबनानमा हिजबुल्लाहको विस्फोटक ड्रोन हमलामा रक्षा मन्त्रालयको ठेकेदार कम्पनीमा कार्यरत एक नागरिकको मृत्यु भएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार हालको १० दिने युद्धविरामलाई तीन साता थप गरिएको घोषणा गरेका थिए। तर, सो घोषणापछि पनि दुवै पक्षबाट आक्रमण जारी रहेको छ। यो युद्धविराम गत अप्रिल १६ र १७ को मध्यरातबाट लागू भएको थियो।





