मन्डेलसन प्रकरणमा स्टार्मरविरुद्धको प्रस्ताव संसद्बाट अस्वीकृत

काठमाडौं — बेलायती प्रधानमन्त्री किअर स्टार्मरले पूर्वअमेरिकी राजदूत पिटर मन्डेलसनबारे संसद्लाई गुमराह गरेको आरोपमाथि अनुसन्धान हुन नपर्ने भएको छ। मंगलबार हाउस अफ कमन्समा भएको मतदानमा विपक्षी कन्जरभेटिभ पार्टीले ल्याएको प्रस्ताव ३ सय ३५ विरुद्ध २ सय २३ मतले अस्वीकृत भएको हो।
पाँच घण्टाभन्दा लामो बहसपछि भएको मतदानमा स्टार्मरलाई संसद्को विशेषाधिकार समितिमा पठाउने प्रस्ताव असफल भयो। स्टार्मरले सोमबार यसलाई ‘राजनीतिक स्टन्ट’ भन्दै प्रतिक्रिया दिएका थिए।
विवादको केन्द्र मन्डेलसनको नियुक्तिबारे स्टार्मरले ‘पूर्ण कानुनी प्रक्रिया’ पालना गरिएको भन्ने अभिव्यक्ति थियो। कन्जरभेटिभ नेता केमी बाडेनोकले यो भनाइ संसद्लाई गुमराह गर्ने किसिमको रहेको तर्क गरेकी थिइन्। गत अप्रिलको मध्यतिर मन्डेलसनलाई सन् २०२५ जनवरीमै सुरक्षा स्वीकृति दिन अस्वीकार गरिएको खुलासा भएको थियो। तर, बेलायती विदेश कार्यालयले उक्त निर्णय उल्ट्याएको थियो। स्टार्मरले यसबारे अप्रिल १४ मा मात्र जानकारी पाएको बताएका छन्।
यौन अपराधमा दोषी ठहर भएका जेफ्री एप्स्टिनसँगको सम्बन्ध सार्वजनिक भएपछि मन्डेलसनलाई सन् २०२५ सेप्टेम्बरमा वासिङ्टनस्थित राजदूत पदबाट बर्खास्त गरिएको थियो। यसै वर्षको सुरुमा सार्वजनिक पदमा रहेर कथित दुराचार र बजार संवेदनशील सूचना चुहावटको अभियोगमा उनी छोटो समय पक्राउ पनि परेका थिए।





