युद्धको मार : स्पेनको अर्थतन्त्र एक प्रतिशतसम्म संकुचित हुने चेतावनी

काठमाडौं — स्पेनका उपप्रधानमन्त्री एवं अर्थमन्त्री कार्लोस कुएर्पोले इरानविरुद्ध अमेरिका र इजरायल संलग्न युद्धका कारण सन् २०२६ मा स्पेनको जीडीपी ०.४ देखि १.० प्रतिशतसम्म संकुचित हुन सक्ने चेतावनी दिएका छन्।
साप्ताहिक मन्त्रिपरिषद् बैठकपछि बोल्दै कुएर्पोले स्पेनको केन्द्रीय बैंकले आर्थिक वृद्धिमा करिब ०.८ प्रतिशतको नकारात्मक असर पर्ने अनुमान गरेको जानकारी दिए। उनका अनुसार मुद्रास्फीति करिब १ प्रतिशत बिन्दुले बढ्न सक्ने र वार्षिक औसत मुद्रास्फीति ३.१ प्रतिशत पुग्न सक्ने अनुमान छ।
यो चेतावनी यस्तो बेला आएको हो, जति बेला स्पेनको मुद्रास्फीति मार्चमै ऊर्जा मूल्यवृद्धिका कारण ३.४ प्रतिशत पुगिसकेको छ। यसले स्पेनी अर्थतन्त्र बाह्य धक्काप्रति कति संवेदनशील छ भन्ने उजागर गरेको छ।
‘उच्च अनिश्चितताका कारण विश्लेषकहरू पूर्वानुमानभन्दा पनि विभिन्न परिदृश्यमा काम गर्न बाध्य छन्,’ कुएर्पोले भने। यद्यपि, विविध ऊर्जा स्रोत र बलियो नवीकरणीय ऊर्जा उपस्थितिका कारण अधिकांश युरोपेली मुलुकको तुलनामा स्पेन तुलनात्मक रूपमा राम्रो अवस्थामा रहेको उनको भनाइ छ। युद्ध लम्बिँदै गए आर्थिक परिदृश्य थप बिग्रने उनले चेतावनी दिए।





