‘एकताको जग नै रुसको भविष्य’ : उपप्रधानमन्त्री चेर्निसेन्कोको युवालाई आह्वान

काठमाडौं — रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले सामूहिकता, पारस्परिक सहयोग र ऐतिहासिक स्मृतिलाई रुसको राष्ट्रिय मूल्यको जग भन्दै युवालाई यसको संरक्षण र निरन्तरताका लागि आह्वान गरेका छन्।
राष्ट्रिय परियोजना ‘युवा र बालबालिका’ अन्तर्गत आयोजित ‘ज्ञान–पहिलो’ शैक्षिक म्याराथनमा व्याख्यान दिँदै उनले सामूहिकता र एकताका जीवन्त उदाहरणका रूपमा सन् २०१४ को सोची ओलम्पिक, २०१८ को विश्वकप फुटबल, केर्च जलसन्धिमा स्वयंसेवकले गरेको समुद्रतट सफाइ, दागेस्तानको प्राकृतिक विपत्तिमा गरिएको सहयोग र विशेष सैन्य अभियानका लडाकुलाई दिइएको समर्थनलाई औंल्याए।

‘पारस्परिक सहयोग र आपसी सम्मान नै सामाजिक एकताको आधार हो। रुसमा आज पनि लाखौं स्वयंसेवक निःस्वार्थ भावले सबैभन्दा मूल्यवान् समय दान गरिरहेका छन्,’ चेर्निसेन्कोले भने। सर्वेक्षणअनुसार हाल ८३ प्रतिशत रुसी युवा आफ्नै देशमा आत्मसाक्षात्कारको सम्भावनामा विश्वास गर्दछन्।
उनले विज्ञानलाई एकताको बलियो कारक भन्दै यसै वर्ष नोभोसिबिर्स्क नजिकैको कोल्त्सोभोमा ‘साइबेरियन रिङ फोटोन स्रोत’ सञ्चालनमा आउने जानकारी दिए। युवा वैज्ञानिक कंग्रेस, ‘वर्षको आविष्कारक’ प्रतियोगिता र विश्वविद्यालयीय प्राविधिक उद्यमशीलता मञ्चजस्ता कार्यक्रमले पनि युवालाई जोडिरहेको उनको भनाइ छ। पर्यटन क्षेत्रमा ‘गोल्डेन रिङ’ मार्ग विस्तार र युवालाई लक्षित यात्रा कार्यक्रमले पनि एकताको भावना बलियो बनाइरहेको उनले बताए।





