स्मार्ट लाइसेन्स छपाइ २४ घण्टाभित्र, राहदानी घरैमा: सञ्चार मन्त्रालयको एक महिने प्रगति

काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्री डा. विक्रम तिमिल्सिनाले जिम्मेवारी सम्हालेपछिको एक महिनाको प्रगति सार्वजनिक गर्दै प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी गरेको छ। सरकारको सय बुँदे शासकीय सुधार कार्यसूचीलाई उच्च प्राथमिकतामा राखेर नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालका सेवा सुधारलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।
सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइमा लामो समयदेखिको ढिलाइ अन्त्य गर्न अब यातायात व्यवस्था विभागबाट तथ्याङ्क प्राप्त भएको २४ घण्टाभित्र सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ। हालसम्म १२ लाख लाइसेन्स छपाइ सकिएको र थप १७ लाख असार मसान्तभित्र छाप्ने सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ।
हुलाक सेवालाई आधुनिक बनाउन ‘सरकारी कुरियर सेवा’ अवधारणा ल्याइएको छ। यसअन्तर्गत अब राहदानी नागरिकको घरमै पुर्याउने सेवा सुरु भएको छ। प्रारम्भिक चरणमा कालिकोट, सिन्धुपाल्चोक, बाँके, कास्कीलगायत १० जिल्लामा यो सेवा उपलब्ध छ। पोस्टल कोडलाई सङ्घीय संरचनाअनुसार पाँचबाट सात अङ्कमा स्तरोन्नति गरिएको छ।
दूरसञ्चारतर्फ प्रिपेड मोबाइल प्याकेजको अवधि २८ दिनबाट ३० दिन पुर्याइएको छ। नेपाल टेलिकमका ग्राहकको डाटा सकिएपछि स्वतः ब्यालेन्स कट्ने प्रणालीलाई परिमार्जन गरी ग्राहकले रोज्न पाउने सुविधा दिइएको छ। फोरजीको गुणस्तर सुधार गर्न ८०० मेगाहर्ज ब्यान्डमा थप फ्रिक्वेन्सी दिने र फाइभजी विस्तारका लागि ३३००–३७०० मेगाहर्ज ब्यान्ड खुला गर्ने निर्णय भएको छ।
डिजिटल नेपाल अभियानअन्तर्गत नागरिक एपमा प्रहरी प्रतिवेदन, इन्जिनियरिङ काउन्सिलको प्रमाणपत्र र लोकसेवाको प्रवेशपत्र डाउनलोड गर्ने सुविधा थपिएका छन्। साइबर सुरक्षामा कडाइ गर्दै ११ हजारभन्दा बढी सट्टेबाजी एप र वेबसाइट बन्द गरिएको मन्त्रालयले जनाएको छ।
यसैगरी, सूचना प्रविधि विधेयक र साइबर सुरक्षा विधेयकको मस्यौदामा कानुन मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको छ। मन्त्रालयले सेवा प्रवाहलाई छिटो र परिणाममुखी बनाउन कार्ययोजना तयार गरी कार्यान्वयनमा लगिएको जनाएको छ।





