चितवनमा २२६ भूमिहीनलाई लालपुर्जा, साढे १४ करोड राजस्व सङ्कलन

चितवन — चालु आर्थिक वर्षको साउनदेखि हालसम्म चितवनमा २२६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।
भूमि समस्या समाधान आयोगले जिल्लाका चार हजार ७४३ कित्ताबाट ३४ हजार २९५ हेक्टर क्षेत्रफलको नापनक्सा गरेको थियो। राप्ती, खैरहनी, रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा ती भूमिहीनलाई पुर्जा वितरण गरिएको हो। यसै वर्ष २५० हाराहारी पुर्जा वितरणको तयारी रहेको आयोगका अध्यक्ष इमानसिंह मोक्तानले बताए।
पुर्जा वितरणबाट हालसम्म १४ करोड ७२ लाख ७५ हजार ३५० रुपैयाँ राजस्व सङ्कलन भएको छ। पुराना अयोगबाट नापी भई अधुरा रहेका कामबाट सो राजस्व सङ्कलन भएको हो। ‘अहिले पुर्जा वितरणको कामसँगै अन्य कानुनी बाधा हटाउन अन्तरक्रिया र बैठकहरू भइरहेका छन्,’ मोक्तानले भने, ‘अन्य जिल्लाको तुलनामा चितवनमा काम तीव्र पारिएको छ।’
नियमानुसार आवासीय हकमा एक हजार वर्गमिटरसम्म मालपोत मूल्याङ्कनको १० प्रतिशत र कृषि क्षेत्रका लागि एक हजार ७०० वर्गमिटरसम्म पाँच प्रतिशत राजस्व बुझाउनुपर्ने हुन्छ। गत आर्थिक वर्षको वैशाखमा आयोगले ३०५ जनालाई पुर्जा वितरण गरेको थियो। जिल्लामा विभिन्न समयमा ४० हजार हाराहारीले जग्गाधनी पुर्जाका लागि निवेदन दिएका छन्।





