हिउँदे वर्षाले लमजुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ — हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।
मध्यनेपाल नगरपालिका–१० विमिरे भञ्ज्याङमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। ‘गएरातिदेखि नै वर्षा भइरहेकाले सो क्षेत्रमा पहिरो गएको हो,’ उनले भने।
पहिरो खुलाउन तत्काल पहल भइरहे पनि निरन्तरको वर्षाले काम प्रभावित भएको उनको भनाइ छ। यसैगरी, सडकखण्डका विभिन्न खोलामा पानीको बहाव बढेकाले पनि सवारी सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।





