चक्रपथ विस्तारको दोस्रो चरणका लागि ११ अर्ब चिनियाँ अनुदान

काठमाडौं। चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्झौतामा नेपाल र चीनबीच हस्ताक्षर भएको छ। कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माणका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत चाङ् माओमिङबीच आज राजधानीमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
८.२ किलोमिटर सडक निर्माण हुने
सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८ दशमलव २ किलोमिटर सडक तथा सो क्षेत्रमा पर्ने पुलहरू निर्माण गरिनेछ। निर्माणका लागि आवश्यक सम्पूर्ण खर्च चीन सरकारले वहन गर्नेछ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए तत्काल समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा छ। नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा राखेका छौं।”
चिनियाँ राजदूतको प्रतिक्रिया
चिनियाँ राजदूत चाङ् माओमिङले लगानीका लागि उपयुक्त वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी दिए। नेपाल–चीन वीचको विकास सहायता तथा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा यो सम्झौता कोशेढुंगा सावित हुने उनको भनाइ थियो।
पहिलो चरण सम्पन्न
उल्लेखनीय छ, यसअघि सन् २०१९ देखि थालिएको पहिलो चरणको चक्रपथ विस्तार अन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको खण्ड सम्पन्न भइसकेको छ। दोस्रो चरणको पूरा भएपछि राजधानीको सडक सञ्जालले थप फड्को मार्ने अपेक्षा गरिएको छ।





