१७ बैशाख २०८३, बिहीबार

‘अध्यादेशको दुरुपयोग सर्वसत्तावादतर्फको बाटो’: पूर्वमन्त्री गुरुङ

काठमाडौं — पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत हुँदाहुँदै पनि सरकारले संसद छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक पद्धति भएको बताएका छन्।

‘संसद्को बैठक बस्न सक्ने अवस्था हुँदाहुँदै बैठक स्थगित गरी अध्यादेश जारी गर्ने प्रवृत्ति घोर अलोकतान्त्रिक हो। यस्तो प्रवृत्ति बढ्दै गएमा सर्वसत्तावाद र निरंकुशतन्त्रको दिशामा जानेछ,’ उनले भने। मन्त्रिपरिषद्बाट आह्वान भइसकेको संसद अधिवेशन स्थगित गरी हालसम्म ६ वटा अध्यादेश सिफारिस गरिएको उल्लेख गर्दै उनले संवैधानिक परिषद्, सहकारी, राजनीतिक नियुक्ति खारेज, विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र केही नेपाल ऐन संशोधन गर्न झन्डै ४० ऐन अध्यादेशमार्फत संशोधन गर्न खोजिएको बताए।

गुरुङले यसलाई संविधानको धारा ११४ को दुरुपयोग मात्र नभई सर्वसत्तावादतर्फको यात्रा भएको टिप्पणी गर्दै अध्यादेशको दुरुपयोग बन्द गरी लोकतान्त्रिक विधि अवलम्बन गर्न सरकारसँग माग गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button