१७ बैशाख २०८३, बिहीबार

लोकमार्ग निर्माण नसकिँदै अतिक्रमणको होड, साँघुरिँदो सडकमा दुर्घटना जोखिम

बागलुङ — कर्णाली प्रदेशका धेरै जिल्लाबाट राजधानी जाने सवारी साधनको मुख्य मार्ग मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सडक अतिक्रमण गरी घर–टहरा बनाउने होड चलेको छ। निर्माण सम्पन्न नहुँदै सडक साँघुरिँदै जाँदा दुर्घटनाको जोखिम बढेको छ।

काठेखोला गाउँपालिका–६ को इनारपानीमा घडेरी बनाउन सडकको सेफ्टी वाल नै भत्काइएको छ। गलकोट, बडीगाड र निसीखोलातर्फका बजार क्षेत्रमा सडकको नालीमै जोडेर घर–टहरा बनाउन थालिएको छ। गलकोट–२ नरेठाँटीमा सडक र पुलमै जोडेर होटल र ग्यारेज सञ्चालनमा छन्। बडीगाड–७ भीमगिठेमा त दुवैतर्फ घरैघर बनेपछि दोहोरो सवारी चल्नै नसक्ने अवस्था छ। स्थानीयले पिकअप र ट्याक्सी सडकमै पार्किङ गर्दा झन् जोखिम थपिएको छ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, पर्वतले अतिक्रमण हटाउन पत्राचार गरे पनि स्थानीय तहले मापदण्ड नबनाउँदा समस्या भएको आयोजना प्रमुख अनुक्षा घिमिरे बताउँछिन्। ‘बागलुङदेखि रुकुमको सिमाना पातीहाल्नेसम्मको राजपत्र प्रकाशित नभएकाले मापदण्डमा कडाइ गर्न सकेका छैनौं,’ उनले भनिन्। निसीखोला–३ का वडाध्यक्ष रमेशविक्रम शाहीले गाउँपालिकाले नक्सापासको प्रावधान नबनाउँदा मौका छोपेर संरचना बनिरहेको स्वीकार गरे।

गलकोट–११ मनेवामा दरमखोला जलविद्युत् आयोजनाले सडक छेवैमा पाइपलाइन बिछ्याएपछि सडक थप साँघुरो भएको छ। निसीखोलाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले सम्झाइबुझाइ गर्दा पनि कतिपयले अटेर गरेको बताए। ‘राज्यले हस्तक्षेप नगरे ठूला दुर्घटनाको जोखिम भोग्नुपर्छ,’ उनले भने।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाका अनुसार पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको १७ सय किमि लोकमार्ग निर्माण सुरुदेखि नै मापदण्डअनुसार बन्न सकेको छैन। ‘सडकको मापदण्ड मिच्नु कानुनविपरीत हो,’ उनले भने। सडक ऐन २०३१ को दफा १९ ले स्वीकृतिविना सार्वजनिक सडकमा संरचना बनाउन रोक लगाएको छ। समितिले गलकोटको एक पेट्रोल पम्पलाई अनुगमनपछि पछाडि सार्न लगाएको थियो। जिल्ला सभाले लगातार तीन वर्षदेखि अतिक्रमण हटाउन राज्यको ध्यानाकर्षण गराउँदै आएको छ। यसैबीच, तीन वर्षअघि खसेका पहिरो मर्मत नहुँदा झाँक्रीस्थान र काफल ठुटामा सडक जोखिमपूर्ण बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button